संयुक्त राज्य अमेरिकामा अप्रत्यासित चरित्रका डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा ल्याउनुको उद्देश्य तेस्रो विश्वयुद्धको प्रयोजनका लागि हो भनेर समारिक विज्ञहरु विश्लेषण गर्छन् । २३औँ महान जनयुद्ध दिवसको अवसरमा शुभकामनासहित त्यसबारे संक्षिप्त चर्चा गरौँ ।
तेस्रो विश्वयुद्धका लागि मौजुद तीन परिस्थितिहरु
१. जनसंख्याको अतिबृद्धि
सन् १९८७ मा विश्व जनसंख्या पाँच अर्व रहेकोमा त्यसको तीस वर्षपछि सात अर्व पुगेको छ । पुँजीवादी अर्थशास्त्रीहरु जनसंख्या बृद्धिलाई समस्या ठान्दछन् र समाधानमा भयानक युद्धहरु आयोजना गरेर आम हत्याको अपराध गर्दछन् ।
२. पुँजीको अति केन्द्रीकरण
बेलायती संस्था अक्स्फामको एक प्रतिबेदन अनुसार ५० जना पुँजीपतिको हातमा विश्वको ८५ प्रतिशत सम्पति छ । बाँकी १५ प्रतिशत सम्पतिले सात अर्व मानिसको जीविका धान्नु परेको छ । सात अर्वमध्ये ८० करोड मानिस भोकै सुत्छन् । त्यसमध्ये भारतमा २० करोड मानिस भोकै सुत्छन् ।
३. अमेरिकाको आणविक आक्रमण र उत्तर कोरियाली प्रतिरोधको तयारी
साम्राज्यवादी अमेरिकाले १४० देशमा आफ्नो सैनिक अखडा थोपरेको छ । त्यसमा दक्षिण कोरिया र जापान पनि पर्दछन् । साम्राज्यवादी अमेरिकाले विभिन्न मुलुकहरुमाथि आणविक आक्रमणको बानि छाड्दैन । त्यस विरुद्ध उत्तर कोरियाले प्रतिरोधको सँस्कृति विकास गरिसकेको छ ।
प्रस्तुत तथ्यहरुले मात्र पनि दशकभित्र तेस्रो विश्वयुद्धको परिस्थिति दृष्टिगत हुन्छ ।
के होला त तेस्रो विश्वयुद्धको परिणाम? निम्न रुपमा विचार गरौँ ।
परिणाम १
मार्क्सवाद-लेनिवाद-माओवादको वैज्ञानिक पथप्रदर्शनमा सर्वहारावर्गले तयारी र ठोस पहलकदमी लिन सकियो भने विश्वयुद्ध विश्वक्रान्तिमा बदल्न सकिन्छ । विज्ञान, प्रविधि तथा सूचना सञ्चारको क्रान्तिकारी उपयोगद्धारा विश्वक्रान्ति सम्भव छ ।
परिणाम २
मानव अस्तित्व समाप्त हुनसक्छ ।
परिणाम ३
सर्वहारावर्गले अपेक्षित पहलकदमी लिन सकेन तथा मानव अस्तित्व सुरक्षित रह्यो भने बीचमा सम्झौता हुनसक्छ । तर त्यसको लागि मध्यस्तताको भूमिकामा चीनले आफूलाई केन्द्रमा उभ्याउन सक्नुपर्छ । विश्वब्यापी सम्झौता हुँदा संयुक्त राष्ट संघको आमूल पुनसंरचना, अमेरिकी सेनालाई हठात स्वदेश फिर्ता गर्ने, पञ्चशीलको सिद्धान्त व्यवहारतः कार्यन्वयन आदि हुनेछन् । सम्झौताले वित्तीय एकाधिकार पुँजीवादलाई पछाडि धकेल्छ र विश्वव्यापी राष्टिय समाजवादको अर्थ-राजनीतिक प्रणाली स्थापित गर्छ ।
तेस्रो विश्वयुद्धमा नेपाल के होला?
छिमेकी भारतमा जति प्रदेश छन्, ती सबै स्वतन्त्र मुलुक बन्न जमर्को गर्नेछन् । विद्यमान भारत कम्तिमा ७ वटा स्वतन्त्र मुलुकमा विभाजित हुनेछ । नेपाल पनि पाँच मुलुकमा विभाजित हुन्छ । एउटा मधेश भयो । अर्को थारुहरुले आँट गरे भने थरुवान स्वतन्त्र होला । तेस्रो, गण्डकी पश्चिम उत्तराञ्चलसम्मको एउटा मुलुक हुन्छ । चौथो, गण्डकीदेखि तामाकोशी-दुधकोशीसम्म र दुधकोशीदेखि टिस्टासम्मको भूभाग पाँचौँ स्वतन्त्र मुलुक बन्छ ।
त्यसर्थ विश्वयुद्धको परिस्थितिमा नेपाललाई एकीकृत राख्ने हो भने उत्पीडित राष्टिय समुदायले माग गरेको राजकीय पहिचान र अधिकार तुरुन्त संबोधन गर्न सक्नुपर्छ ।
विश्वक्रान्तिको अर्थ
पहिलो विश्वयुद्ध नभईदिएको भए लेनिन क्रान्ति सम्भव हुने थिएन । दोस्रो विश्वयुद्ध नभईदिएको भए माओ क्रान्ति सम्भव हुने थिएन, भारत पनि स्वतन्त्र हुने थिएन । सर्वहारावर्गको नेतृत्वमा देशभक्त क्रान्तिकारीहरुले वैचारिक राजनीतिक, संगठन, संघर्ष र प्राविधिक तयारी गरेर दृढ इच्छाशक्तिसहित पहलकदमी लिन सकियो भने तेस्रो विश्वयुद्धलाई हठात विश्वक्रान्तिमा बदल्न सकिन्छ । विश्वक्रान्तिको अर्थ शोषण-उत्पीडनको अखडा राज्य तथा सरकारहरुको विघटन/विलोपीकरण र विश्वव्यापी साम्यवादी समाजको सुनिश्चितता हो ।
नेपाली जनयुद्धको २३ औँ दिवसमा यसरी महान विश्वक्रान्ति आह्वान गरौँ ।
(प्रस्तुत विचारहरू लेखकका निजी हुन् – सम्पादक)