Chairman Prachanda (Pushpa Kamal Dahal) at Lumbini Mahotsab
 

काभ्रे । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संविधान र कानूनको मर्म अनुसार समायोजन गर्दा कर्मचारी कार्यक्षेत्रमा जान नमाने उनीहरुलाई विदा दिएर नयाँ भर्ती गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका वडा नं. २ मा रहेको श्री खाँडादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

‘अहिले कतिपय कानूनको अभावमा या कर्मचारी समायोजनको अन्यौलताका कारणले ढिला भएको पक्कै पनि हो ।’ अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्र सेवक भनिएका कर्मचारी संविधानको मर्म र भावना अनुसार र ऐन कानूनको व्यवस्था अनुसार देशको कुनै पनि भागमा सरकारले खटाए अनुसार जानुपर्छ । यदि जान तयार नहुने हो भने राज्यले बिदा गर्दिनु पर्दछ र नयाँ कर्मचारी भर्ती गरेर भएपनि संविधान कार्यान्वयन तिर लाग्नु पर्दछ ।’

संवैधानिक र कानूनी हिसाबले सिंहदरबारमा केन्द्रित भएको अधिकार गाउँ–गाउँमा पुगेको तर व्यबहारीक रुपमा जान लागेको बताउँदै अध्यक्ष प्रचण्डले राज्यको शक्ति विकेन्द्रित भएर जनताको घरदैलोमा लैजान हजारौंको बलिदान भएको बताए ।

उनले पार्टीको स्थायी समिति बैठकमा सर्वसम्मत निर्णय गर्दै सफलताका साथ सम्पन्न भएको बताउए । लोकतान्त्रिक वातावरणमा छलफल गरी बैठक सम्पन्न भएको बताउँदै पुस महिनाभित्र तलैसम्म पार्टी एकता गरी सक्ने स्थायी समितिको निर्णय भएको उहाँले जानकारी दिए ।

कार्यक्रममा उनले संविधानसभाको निर्वाचन गरेर नेपालको इतिहासका हामी गौरवशाली पुस्ता भएको स्पष्ट पारे । ‘नेपाली जनताले २०१९ साल पछि यी कम्युनिष्ट भन्नेहरु मिलिदिए हुन्थ्यो भन्ने चाहाना राख्दै आएका थिए । तर अहिलेसम्म पुरा हुन नसकेको कुरा पनि तपाई हामी नै साक्षी बसेर र सक्रिय भएर हाम्रै सहभागितामा कम्युनिष्ट पार्टीको बलियो एकता कायम भयो ।’ उनले भने, ‘अहिले नेपालमा एउटा बलियो र स्थिर सरकार बनेको छ, जसले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएर जाने संकल्प गरेको छ । यो पनि नेपाली इतिहासमा एक पटक हुने कुरा हाम्रै पालामा भयो ।’