Pushpa Kamal Dahal 'Prachanda', Chairman, Nepal Communist Party
 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले एकता प्रकृया छिट्टै टुंग्याएर नयाँ अभियानको थालनी गर्ने बताउनु भएको छ ।

जनवर्गीय संगठनहरुको एकता प्रक्रिया ढिलो भएको कुरा स्वीकार गर्दै अध्यक्ष प्रचण्डले काठमाडौँ फर्के लगत्तै कार्यदलको रिपोर्ट लिने र बाँकी कुरा अगाडि बढाउने बताउनुभयो ।

पार्टी कामको सिलसिलामा चितवनको भरतपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले फागुन र चैतको अभियान जसरी पनि पुरा गर्ने जानकारी दिनुभयो । सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएको र विकास निर्माणका कामले गति लिन थालेको उहाँको जिकिर थियो ।

सञ्चारकर्मीहरुले सोधेको एक प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले पार्टी सचिवालयको बैठक बसेर भेनेजुएलामा भइरहेको अमेरिकी हस्तक्षेपको विरोधमा नै वक्तव्य जारी भएकाले यस बारेमा अब अरु कुराले केही अर्थ नराख्ने टिप्पणी गर्नुभयो ।

एक फरक प्रसङ्गमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालमा शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढाउन कुनै समस्या नभएको र सबै राजनीतिक दलहरुबीचमा सहमति भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो –  ‘ऐन संशोधनका निम्ति सबैसँग कुरा भएको छ । शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच एउटै धारणा छ ।’

नेपालको शान्ति प्रक्रियाको बारेमा विभिन्न राजदूतहरुको वक्तव्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति भएको उहाँको भनाई थियो ।