काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले विकास र समृद्धिको यात्रामा एकता र उर्जा जरुरी भएको बताउनु भएको छ । शनिबार भक्तपुरको हनुमन्ते सरसफाइ अभियानको गौरवमय ५१ औं हप्ता पुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता र उर्जा विना विकास र समृद्धि संभव नरहेको उल्लेख गर्नुभयो ।
नयाँ उर्जा र नयाँ एकताका साथ काम गर्दा समृद्धि धेरै टाढा नभएको भन्दै उहाँले भन्नुभयो ‘हामीले नयाँ उर्जा र उत्साह लिएर जनतामा जानुपर्छ । विकास र समृद्धिको यात्रामा हाम्रो एकता र उर्जा जरुरी छ ।
एकता भयो भने जस्तासुकै चुनौति पनि छिचोल्न सकिने बताउँदै अध्यक्ष प्रचण्डले हिजो शान्ति प्रक्रिया र संविधान निर्माणमा एकता प्रदर्शन गरेको स्मरण गर्नुभयो । उस्तै उस्तै उदेश्यलिएकाहरुको बिचमा एकता हुनुपर्ने र त्यो एकताले लक्ष्यसम्म पुग्न थप उर्जा प्रदान गर्ने बताउँदै अध्यक्ष प्रचण्डले अब देशमा विकास र समृद्धिका लागि पनि एकता प्रदर्शन गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले सिंगो भक्तपुर जिल्लाको विकासका लागि सबै दल र विभिन्न समुदायहरूको सक्रियता समृद्ध राष्ट्र निर्माणमा सकारात्मक सन्देश भएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले हनुमन्ते सरसफाइ अभियानले देशभरि एउटा सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म एकछिनपछि बालुवाटार जाँदैछु, अनि धादिङ जाँदैछु । एक ठाउँमा भएको विकासको सन्देश अर्को ठाउँमा पुर्याउन मैले आवश्यक ठानेको छु । तपाईहरुको यो अभियानले पनि देशव्यापी सन्देश दिनुपर्छ ।’









