काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले सिन्डीकेटको अन्त्य भइसकेको बताउनुभएको छ ।

बुधबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सिन्डीकेटको अन्त्य भइसकेको उल्लेख गदै अब फर्कने अवस्थामा नरहेको स्पष्ट पार्नुभयो । उहाँले राज्यले सबै प्रकारका सिन्डिकेट अन्त्यका लागि लागि परेको बताउँदै छिट्टै कानून नै बनाएर सिन्डीकेटको सम्पूर्ण हिसावले अन्त्य गर्ने बताउनुभयो ।

सरकारले सिन्डीकेट अन्त्यका लागि पहल सुरु गरे पनि त्यसलाई निष्कर्षमा पुर्याउने बेला सरकार पछाडि हटेको आरोप सांसदहरुको थियो । जवाफमा गृहमन्त्री थापाले सिन्डीकेटको अन्त्य भईसकेको र सुन तस्करहरुलाई समेत कारबाही हुने दावी गर्नुभयो ।

‘राज्य सुन तस्करको सञ्जाल ध्वस्त बनाउन सफल भएको छ’, उहाँले भन्नुभयो – ‘अब तस्करलाई कारबाही हुन्छ ।’ गृहमन्त्री थापाले देशमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको पनि दावी गर्नुभयो ।