कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आवरणमा हिंसात्मक क्रियाकलाप स्वीकार्य नभएको बताउनुभएको छ ।
बुधबार बिहान सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउने खालका कामहरु भएको भन्दै यस्ता विकासका बाधक र हिंसात्मक क्रियाकलापहरु सरकारले हेरेर नबस्ने बताउनुभएको हो । देश र जनताका हित विपरीत कतिपय क्रियाकलाप भएको बताउँदै प्रधानमन्त्री ओलीले विप्लब माओवादीप्रति लक्षित गर्दै हिंसात्मक गतिविधि सरकारको लागि स्वीकार्य नभएको स्पष्ट पार्नुभएको हो ।
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अत्यन्त दुःखद भएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो । अत्यन्त दुःखद कुरा हो ।’ हत्यारा पत्ता लगाउने प्रयास जारी रहेको भन्दै उहाँले अगाडि भन्नुभयो – ‘सरकारले हत्यारा पत्ता लगाउन थुप्रै अनुसन्धान गरेको छ । तर, कहिले काहीँ अपराधीले प्रमाण छोडेर जाँदैन’ तर, सरकारले हत्यारा पत्ता लगाएरै छोड्छ ।’
प्रधानमन्त्री ओलीले प्रदेश राजधानीबारे प्रदेशसभाले गरेको निर्णय उपयुक्त भएको धारणा राख्नुभयो । उहाँले भन्नभयो -‘राजधानी सार्ने तपाईहरुले जुन निर्णय गर्नु भएको छ त्यो उपयुक्त छ, त्यसलाई सार्नै पर्छ । तर, त्यसमा लगानी गर्न आवश्यक छ ।’