धनगढी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन र नयाँ राष्ट्रिय एकताका निम्ति दुई कम्युनिष्ट पार्टीको एकता गरिएको बताउनु भएको छ ।
कैलालीको धनगढीमा सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संघर्ष, एकता र सहकार्यका श्रृंखलाहरु पार गरेर संविधान कार्यान्वयन र नयाँ राष्ट्रिय एकताका निम्ति दुई कम्युनिष्ट मिल्नुको विकल्प नदेखेर नै पार्टी एकता गरिएको बताउनुभयो ।
दुई ठूला कम्युनिष्ट पार्टीको एकताका लागि पृष्ठभूमीमा धेरै ठूलो संघर्ष भएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले पञ्चायत बिरोधी आन्दोलनबाट सुरु भएको सहकार्य जनयुद्ध र जनआन्दोलनका दुई ठूला प्रयोगहरु हुँदै पार्टी एकतासम्म आईपुगेको उल्लेख गर्नुभयो ।
अध्यक्षले भन्नुभयो – ‘यो प्रणाली परिवर्तन भएपछि यसलाई संस्थागत गर्ने संवैधानिक र कानुनी जटिलता र चुनौती हाम्रो सामु छन् । त्यसकारण हिजोको बनि बनाउ संविधान र बनि बनाउ कानुनभित्रपट्टिबाट सरकार चलाएजस्तो अहिले होइन ।’
कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्षले भन्नुभयो यदि हामीले प्रतिक्रियावादीले प्रचार गरेजस्तो यो काम पनि भएन सरकारले गरेन, त्यो काम पनि गरेन भनेर त्यो ढंगले सोच्न थाल्यौ भने हामीले यो ऐतिहासिक परिवर्तनको महत्व र मर्मलाई नबुझेको ठहर हुन्छ ।’ केही दिनमै एकता प्रकृया टुङ्गिने गरी गृहकार्य अघि बढेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयोे – ‘तर अब धेरै दिन लाग्दैन, केही दिनभित्रै एकता टुंग्याउने प्रकृयामा छौं ।’
उहाँले संविधानले व्यवस्था गरेअनुसार मौलिक अधिकारसँग सम्बन्धित कानुन बनाउने कुरामा सरकारले महिनौँ खर्च गरेको उल्लेख गर्दै त्यसलाई समयमै पुरा गरेको बताउनुभयो । अध्यक्ष प्रचण्डले अहिले पनि प्रदेश र स्थानीय तहको निम्ति थुप्रै कानुन निर्माणको प्रक्रियामा रहेको बताउनुभयो। उहाँले भन्नुभयोे – ‘अहिले पनि सयौँ विधेयकहरु संसदमा छलफल गर्नुपर्ने र त्यहाँबाट पारित गर्नुपर्ने आवश्यकता छ त्यसकारण सरकारको ध्यान त्यतापट्टि केन्द्रित भएन भने झन ठूलो संवैधानिक संकट र कानुनी जटिलता पैदा हुने खतरा छ ।’
सरकारप्रति सुदूरपश्चिमका जनताले धेरै गुनासो गरेको बताउँदै उहाँले त्यसमा नेकपा सरकार अब खरो रुपमा उत्रिनुपर्ने बताउनुभयो ।अध्यक्ष प्रचण्डले जनयुद्धदेखि जनआन्दोलनसम्म सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । आफू पहिलोपटक प्रधानमन्त्री बन्दा सुदूरपश्चिम विश्वविद्यालयको स्थापनालगायतका काम अगाडि बढाएको स्मरण गर्दै उहाँले नेकपाले पहिलोपल्ट सुदूरपश्चिमबाट कायकर्ता भेलाको सुरुवात गरेको यसले नयाँ सन्देश दिने धारणा राख्नुभयो।