Bharat Mohan Adhikari Daagbatti by his daughters
 

काठमाडौं, नेकपाका नेता एवम् पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीलाई उहाँका तीन छोरीहरुले दागबत्ती दिनुभएको छ ।

आइतवार पशुपतिआर्यघाटमा राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा नेता अधिकारीका छोरीहरु लुना, लीजा र लीनाले दागबत्ती दिनुभएको हो ।

आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर सम्मान गर्नुभएको थियो । तत्कालिन नेकपा एमालेका अध्यक्ष, प्रधानमन्त्री तथा अधिकारीका दाजु मनमोहन अधिकारी र तत्कालिन महासचिव मदन भण्डारीको अन्त्येष्टि गरिएकै चितामा नेता अधिकारीको अन्त्येष्टि गरिएको नेकपा मुख्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठले बताउनुभएको छ ।

Bharat Mohan Adhikari Dagbatti

त्यसअघि नेकपा कार्यालय धुम्बाराहीमा उहाँलाई नेता, कार्यकर्ता, शुभचिन्तक र आफन्तहरुले अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । ८३ बर्षिय नेता अधिकारीको शनिवार ह्याम्स अस्पतालमा निधन भएको हो ।

उहाँको निधनमा नेकपाका अध्यक्षद्धय केपी ओली र प्रचण्डले शोक विज्ञप्ति जारी गर्नुभएको छ ।

उहाँको निधन हुनु अघि ह्याम्स अस्पतालका चिकित्सकहरुले उहाँलाई बचाउन नसकिने भन्दै पत्रकार सम्मेलन गरेका थिए । तर उहाँलाई भेटेर निस्किनुभएका नेकपाका अध्यक्ष प्रचण्डले नेता अधिकारीको अन्तिम सन्देश सुनाउँदै उहाँको स्वास्थ्यमा कुनै चमत्कार हुन सक्ने आशा व्यक्त गर्नुभएको थियो ।

bharat mohan adhikari

छ दशक राजनीतिमा सक्रिय नेता अधिकारी अर्थमन्त्री हुँदा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिन थाल्नुभयो । बृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन अधिकारीकै योजना थियो ।

संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्व सरकारमा अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्नुभयो । त्यसबेला पनि उहाँले अस्पतालमा सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गर्नुभयो । अस्पतालमा सुत्केरी हुनेले हिमाली क्षेत्रमा १ हजार ५ सय, पहाडी क्षेत्रमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन् ।

Bharat mohan adhikari last salute

पटकपटक सरकारमा रहेर उल्लेखनीय काम गर्नुभएका अधिकारीले पहिलो पटक अर्थमन्त्री हुँदा अघि सारिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेको छ ।

२०४७ मा संविधान मस्यौदा समिति सदस्य अधिकारी मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा दुईपटक निर्वाचित हुनु भयो । अधिकारी मनमोहन मेमोरियल फाउन्डेसनका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

त्यसैगरी, योङ कम्युनिष्ट लिग नेपाल र युवा संघ नेपालले एक शोक वक्तव्य जारी गर्दै नेता अधिकारीको निधनमा दुःख व्यक्त गरेका छन् ।

अध्यक्षद्वय रामप्रसाद सापकोटा दीपशिखा र रमेश पौडेलद्वारा जारी संयुक्त विज्ञप्तिमा नेपाल कम्युनिष्ट आन्दोलनका धरोहर एवम् अभिभावक, पहिलो कम्युनिष्ट सरकारका सफल अर्थमन्त्री, शालिन व्यक्तित्व र सादा जीवन उच्च विचारका धनी र युवा प्रेमी नेता कमरेड भरतमोहन अधिकारीकोज्यूको निधनले आफूहरु र्माहत भएको बताइएको छ ।

विज्ञप्तिमा नेता अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली र शोक संतप्त परिवारमा हार्दिक समवेदना प्रकट गरिएको छ ।