Sukhani ka shaheed haru
 

काठमाडौं,  नेकपा अध्यक्ष प्रचण्ड सुखानी दिवसको कार्यक्रमलाई संवोधन गर्न मंगलबार झापा पुग्नुभएको छ ।

तत्कालीन शासकविरुद्ध विद्रोह गरेवापत झापाका ५ युवालाई पञ्चायती शासकले गोली हानेर हत्या गरेको दिनको स्मृतिमा हरेक बर्ष फागुन २१ गते सुखानी दिवस मनाउने गरिएको छ ।

झापाको दानावारीमा रहेको सुखानी उद्यानमा आयोजित कार्यक्रमलाई संवोधन गर्न नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आजै त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सुखानीको जंगलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा आयोजित कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

सत्यका लागि आवाज उठाउँदा गोली खानु परेको याे घट्नालाई नेपाली कम्युनिष्ट आन्दोलनमा ‘झापा विद्रोह’का नामले पनि सम्झिने र अध्ययन गर्ने गरिन्छ ।

पञ्चायती शासकले २०२९ फागुन २१ गते कम्युनिष्ट युवाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सीमा क्षेत्र सुखानीको जंगलमा गोली हानेर हत्या गरेको थियो ।

२०२९ साल कात्तिकमा पक्राउ परेका दाहाल, घिमिरे, राजवंशी, कुइँकेल र श्रेष्ठलाई झापाबाट इलाम जेल सार्ने नाममा गोली हानेर हत्या गरिएको थियो । त्यसपछि नेपालका कम्युनिष्टहरुले सुखानीलाई आदर्शभूमि मान्ने गरेका छन् । हत्या भएको स्थानमा ५ जना शहीदको शालिक निर्माण गरिएको छ ।

विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई अहिले पनि ‘झापा विद्रोह’का रुपमा चिनिन्छ । त्यसवेला कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो झापा बिद्रोहबाट अत्तालिएको पञ्चायती निरंकुश सरकारले विद्रोह दमन गर्ने क्रममा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।

यही विद्रोहका जगमा नेकपा(माले), नेकपा(एमाले) एवम् नेकपा (माओवादी) हुँदै अहिले संसदमा दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति नेकपा बनेको छ । महान् शहीदहरु, घाइते तथा अपांगहरूको त्याग र बलिदानको परिणामस्वरूप आजको परिवर्तन संभव भएकोले शहीद परिवार र बेपत्ता परिवारलाई उच्च सम्मान तथा व्यवस्थापन गर्नु र उनीहरूका मागहरूलाई संबोधन गर्नु सरकारको दायित्व हो भन्ने आम जनसाधारणको धारणा रहेको छ ।