काठमाडौँ, नेकपाका अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।

बिहिवार बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । सो क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायत नेता तथा कार्यकर्ताले उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइ श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

फागुन २१ गते नुवाकोटमा आयोजित एक पूजामा सहभागी हुन जाने क्रममा हृदयघातबाट गम्भीर घाइते हुनुभएका ७२ वर्षीय पण्डितको उपचारका क्रममा निधन भएको थियो । दिवङ्गत नेता पण्डितका जीवनसङ्गिनी सावित्रीसहित, छोरा राजकुमार, किशोर र दिनेश तथा छोरी कल्पना, सफला र सुलोचना हुनुहुन्छ।

पण्डित पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । विसं २०४८ को आमनिर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उहाँ असल शिक्षक र सङ्गठकका रूपमा परिचित हुनुहुन्थ्यो। ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारीमा पर्नुभएको थियो । पछिल्लो समय उहाँ पार्टीमा निष्क्रिय हुनुहुन्थ्यो।

उहाँको आजै आर्यघाटमा दाहसंस्कार गरिएको छ ।