काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले पार्टी, देश र परिवारले शोकलाई शक्तिमा बदल्नुको विकल्प नरहेको बताउनुभएकाे छ ।

फागुन १८ गते राती ह्याम्स अस्पतालमा निधन हुनुभएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य छ जनाको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभामा अध्यक्ष प्रचण्डले शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभएकाे हाे ।

‘यो पीडालाई नयाँ ऊर्जामा बदल्नका लागि उहाँहरूको राम्रो कामबाट शिक्षा लिएर पहलकदमी लिनुपर्छ । पीडामा डुबेर उहाँहरूको योगदान खेर जान दिनुहुन्न ।’ – उहाँले भन्नुभयो ।

‘कमरेड भतरमोहन अधिकारी र कमरेड रवीन्द्र अधिकारीको अभाव सधैँ खड्किरहनेछ ।’ – उहाँले अगाडि भन्नुभयो – ‘उहाँहरुकाे अभावमा नेपालको समग्र राजनीतिक आन्दोलनले कति ठूलो क्षति व्यहोरेको छ भन्ने कुरा आगामी दिनमा खुल्दै जानेछ ।’ अध्यक्ष प्रचण्डले रवीन्द्र अधिकारीको अभाव आउने दिनमा सबैले महसुस गर्दै जाने उल्लेख गर्दै भन्नुभयो – ”सामान्य योगदानका मानिस थिएनन् रवीन्द्र अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका योद्धाहरू ।’

उहाँले रवीन्द्र अधिकारीसहित दुर्घटनामा ज्यान गुमाउनेहरूको मृत्यु पहाडभन्दा पनि गह्रौँ भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो पहाडभन्दा गह्रौँ मृत्यु हो, जसले लाखौँ करोडौँ मानिसहरूलाई तरंगित र उद्देलित पारेको छ । अध्यक्षले दिवंगतहरूले गरेका र गर्न चाहेका राम्रा कामहरू अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।