काभ्रे, भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले खुला प्रतिस्पर्धामा महिलाहरूले आफ्नो सामर्थ्य र क्षमताको विकास गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार धुलिखेलमा परोपकार प्राथमिक उपचार केन्द्र काभ्रेले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले राज्यले विभिन्न निकायमा आरक्षणको व्यवस्था गरेपनि त्यो व्यवस्था लामो समयसम्म नरहने हुनाले अब महिलाहरूले हरेक क्षेत्रमा आफुलाई खुला प्रतिस्पर्धाका निम्ति समेत तयार गर्नुपर्ने बताउनुभएको हो ।
मन्त्री अर्यालले प्राप्त अवसरलाई सदुपयोग गर्दै भोलीका लागि आफुलाई तयार गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘सधैं आरक्षणको व्यवस्था हुँदैन । यो लामो समय रहँदैन । अब त्यसको तयारी अहिलेदेखि नै गर्नुस् ।’
आफ्नो क्षमता, भूमिकाले स्थान बनाउने भन्दै उहाँले व्यवहार, कामले महिलाले काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न अनुरोध गर्नुभयो । इतिहासको कालखण्ड हेर्दा हिजोपनि महिला कमजोर नभएको भन्दै मन्त्री अर्यालले हिजोका दिनमा पनि महिला धन, बल र बुद्धिका क्षेत्रमा महिला अगाडी रहेको र आजका दिनमा पनि अगाडी बढिरहेको धारणा राख्नुभयो ।
मन्त्री अर्यालले ‘हिजोको महिला आन्दोलन र आजको महिला आन्दोलन कसरी अगाडी बढिरहेको छ भनेर समिक्षा गर्ने बेला आएको बताउनुभयो ।
आर्थिक अवस्था सुधारका निम्ति सिप सिकाउने, उत्पादनमा जोड्ने, उद्यमशिलतातर्फ लाग्न महिलाहरूलाई मन्त्री अर्यालको आग्रह थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूलाई मन्त्री अर्यालले महिला लगायत लक्षित समुदायको कार्यक्रम निर्माण गरी सीप सिकाएर आर्थिक आयआर्यजनर्तफ लगाउन आग्रह गर्नुभयो ।
मन्त्री अर्यालले अब यो दिएनन् त्यो दिएनन भनेर बस्ने दिन नभएर महिलाहरू पनि बाँड्ने ठाउँमा पुगेकाले त्यस अवसरको सकारात्मक रूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । मन्त्री अर्यालले आफ्नो ठाउँको विकासका निम्ती लक्षित कार्यक्रम बनाएर लाग्न उपप्रमुख महिलाहरुलाई आग्रह गर्नुभयो ।
एक फरक प्रसङ्गमा मन्त्री अर्यालले मुलुकमा संघीयता लागु भएर तीन तहको सरकारको परिकल्पना गरिरहँदा यी तीन तहकै समन्वयात्मक भूमिकाले मात्रै मुलुक अगाडी बढ्न सक्ने टिप्पणी गर्नुभयो। सरकारले अगाडी बढाएको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा पुरा गर्न तीनै तहको समन्वयात्मक भूमिका जरूरी रहेको भन्दै उहाँले अगाडि भन्नुभयो – ‘सुखी नेपाली र समृद्ध नेपाल बनाउनका निम्ती यी तिनै तहको समन्वय बिना सम्भव छै।’
यसैगरी मन्त्री अर्यालले भूमिसँग हरेकको चासो रहेको भन्दै आफुले ‘पोलिशी’ बनाएर मात्र अगाडी बढ्ने योजना रहेको सुनाउनुभयो । समग्र भूमीको व्यवस्थापन अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री अर्यालले सरकारले पहिलोपटक भू-उपयोग ऐन अगाडी बढाएको र त्यसले जमिनको उपयोगीताको आधारमा ९ प्रकारको जमिनको वर्गीकरण गर्ने जानकारी दिनभयो ।
कृषियोग्य जमिनको अधिकतम प्रयोग गरेर उत्पादकत्व बढाउने, खेतियोग्य जमिनलाई कृषियोग्य उत्पादनमा लगाउनका निम्ती सरकारले प्रेरित गर्ने गरी भुमि ऐन परिकल्पना रहेको उहाँको प्रष्टोक्ति थियो ।
सरकारले भूमी बैंकको परिकल्पना गरेको भन्दै मन्त्री अर्यालले भूमिको वैज्ञानिक हिसाबले वर्गीकरण र प्रयोग गर्नेगरी सरकार अगाडी बढेको बताउनुभयो। ‘किसानले आफुले कमाउन सक्ने जमिन कमाउने, बाँकी कमाउन नसकेको जमिन भूमी बैंकमा राख्ने र त्यसबापत सरकारले किसानलाई सहुलियत दिने परिकल्पना सरकारले गरेको छ’, – मन्त्री अर्यालले भन्नुभयो । किसानले आफुले चाहेको बेलामा उक्त भूमी बैंकबाट निकालेर प्रयोग पनि गर्न सक्ने मन्त्री अर्यालको दावी थियो ।
अहिलेको सबैभन्दा ठूलो चुनौती गरिबी र बेरोजगारी भएको भन्दै उहाँले मान्छेको जीवनस्तर सुधार गर्न सहकारीको मोडेलअनुसार सामुहिकतामा उत्पादनमा सामेल गरेर अगाडी बढ्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो । मन्त्रालयले पहिलो नम्बरमा गरिब पहिचान गर्न लागेको भन्दै उहाँले गरिब पहिचान नगरिकन गरिबी निवारण गर्न नसकिने बताउनुभयो।
यसैगरी अर्को एक प्रसंगमा मन्त्री अर्यालले सरकारले विद्रोही गतिविधि गरिरहेको सिके राउतको समुहलाई शान्तिपूर्ण राजनीतिको बाटोमा ल्याएर मुलुकको शान्ति स्थापनाको कार्यमा ल्याएर उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।
यसैगरी मन्त्री अर्यालले अहिले भूमिगत गतिविधि सञ्चालन गर्दै आएको नेकपा ‘विप्लव’ समुह पनि यसै गरी वार्तामा आउने आशा व्यक्त गर्नुुभयाे ।