प्रचण्ड, Pushpa Kamal Dahal Prachanda, पुष्पकमल दाहाल,
 

रौतहट, पूर्वप्रधानमन्त्री एवं (नेकपा )का अध्यक्ष प्रचण्डले प्रदेश नं‍‍‍. २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ ।

नेकपाद्वारा शनिवार रौतहटको गरूडामा आयोजित प्रदेश नं. २ स्तरीय आमसभामा वोल्दै अध्यक्ष प्रचण्डले प्रदेश नं. २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार नभएको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले आफ्नो दल प्रदेश नं २ को सरकारलाई उदारतापूर्वक काम गर्न दिने पक्षमा रहेको धारणा राख्नुभयो । कम्युनिष्ट सरकारका बारेमा तराई मधेश विरोधीको भ्रम फैलाउने प्रयास भइरहेकोप्रति सजग रहन आम जनसमुदायलाई आग्रह गर्दैै उहाँले सरकारले तराई मधेशका लागि विशेष परियोजना कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो ।

रौतहटको भूमि निरंकुशता विरूद्ध विद्रोह गर्ने प्रेरणाको भूमि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारले तराई मधेशको भविष्यलाई उज्ज्वल पार्न ठूलाठूला परियोजना प्रारम्भ गरेको बताउनुभयो ।

अब सरकार र नेकपाले देशलाई नयाँ युगमा प्रवेश गराउने दिशा लिएको बताउँदै उहाँले अब युगान्तकारी परिवर्तनको वातावरण बनेको टिप्पणी गर्नुभयो । दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध थप विस्तार भएसँगै विकास निर्माण कार्यले पनि तीव्रता पाएको बताउँदै अध्यक्ष प्रचण्डले तराई मधेशका जनतालाई मुक्ति अनुभूति गराउने कार्य सरकारले गरिरहेको धारणा राख्नभयो ।