काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब राजतन्त्र भनेर हिँडिरहनु आवश्यक नभएको बताउनुभएको छ । आइतवार प्रतिनिधिसभालाई संबोधन गर्दै उहाँले अब नेपालमा प्रतिगमन संभव नभएको बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताउँदै जनताले रगत बगाएर गणतन्त्र ल्याएको स्मरण गर्नुभयो । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो। उहाँले शशांकको नाम त लिनुभएन तर, आफूलाई लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरेको उल्लेख गर्नुभयो ।

प्रतिगमनका कुनै सम्भावना नरहेको र नेपाली जनता यो सुन्न पनि तयार नभएको भन्दै प्रधानमन्त्री ओलीले ‘जोगीले फेरी लगाए जस्तो राजतन्त्रको नारा लगाएको’ आरोप लगाउनुभयो । राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिँदै उहाँले भन्नुभयो – ‘कतिपयलाइ नागरिक भएकोमा गर्व छैन, रैती हुने इच्छा छ ।’

उहाँले अगाडि भन्नुभयो – ‘यो रगत बगाएर ल्याएको गणतन्त्र हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल खेलेको होइन । राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक फुटुक नगर्दा हुन्छ ।’

विप्लवका गतिविधि नियन्त्रण गरेरै छाड्ने दावी

संसदमा संवोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूहका गतिविधि नियन्त्रण गरेरै छाड्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले कतै दर्ता नभएको र ठेगाना नभएको समूहले चन्दा उठाउँदै, आपराधिक क्रियाकलाप गर्दै आएको हुनाले उक्त विध्वंसात्मक समूहलाई सरकारले नियन्त्रण गरेको दाबी गर्नुभयो ।

उहाँले विप्लवमाथिको नियन्त्रण लोकतान्त्रिक भएन भन्दै कतिपयको टाउको दुखेको बताउनुभयो । ‘विध्वंशलाई रोक्दा कहाँ लोकतन्त्र खतरामा पर्‍यो’ भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरै सम्झाउँदा पनि विप्लव समूहले लुट, हिंसात्मक गतिविधि नरोकेकाले कानुनअनुसार नियन्त्रण गर्नुपरेकाे   बताउनुभयो ।

यद्यपि अहिले पनि विप्लव समूहलाई वार्तामा आउन बाटो खुला रहेको पनि प्रधानमन्त्रीको भनाई थियो । ‘हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु बुझाउन आए हुन्छ ।’ उहाँले भन्नुुभयो – ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’

सरकारले चन्दाको नाममा लुटपाट गर्न, बम पड्काउन र विध्वंस मच्चाउन नदिने भन्दै प्रधानमन्त्रीले यस्तो कुराको कल्पना समेत नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘लोकतान्त्रिक अभ्यास र आचरण अनुसार सबै चल्नुपर्छ, त्यसमा सरकार एकदमै दृढ छ । अब देशमा यस्तै प्रकारको अशान्तिको श्रृखला जारी रहन्छ कि भन्ने कल्पना नगरे हुन्छ, जारी राख्न सकिन्छ कि भनेर सोचेको छ भने कल्पना नगरे हुन्छ ।’

सरकारले विप्लव समूहलाई प्रशासनिक ढंगले मात्र समाधान गर्न नखोजेको प्रष्ट्याउँदै प्रधानमन्त्रीले श्रीकृष्ण र रामले समेत सुदर्शन चक्र र धनुवाण देखिने गरी बोकेको भन्दै टिप्पणी गर्नुभयो । सम्झाउँदा नहुनेलाई हतियारमार्फत कारबाही गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले अहिलेको समयमा भूमिगत बसेर क्रान्ति गर्छु भन्ने सपना नदेख्न विप्लव समूहलाई आग्रह समेत गर्नुभयो ।

सरकार तिब्र गतिका साथ सकारात्मक बाटोमा

संसदको हिउँदे अधिवेशनको अन्तिम बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सक्रियता र गतिशिलताका साथ काम गरिरहेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे –  ‘यो वर्ष संसद् र सरकारको लागि गतिशिल रह्यो । सरकारले सक्रियता र गतिशिलताका साथ काम गरेको छ । हामी तिब्र गतिका साथ सकारात्मक बाटोमा अघि बढेका छौं ।’

प्रधानमन्त्री ओलीले राजनीतिक हिसावमा ठूला उपलव्धि हासिल गरेको भन्दै तिनलाई संस्थागत गर्दै अघि बढेको समेत बताउनुभयाे । समाजमा व्याप्त अपराध, भ्रष्टाचार रोक्ने  र समाप्त पार्ने सन्दर्भमा सरकारले ठूलो उपलव्धि हासिल गरेको प्रधानमन्त्रीको दाबी थियो ।

सरकारले भ्रष्टाचार नियन्त्रण र सुरक्षामा उपलव्धि हासिल गरेको प्रधानमन्त्रीको भनाइ थियो । ‘३३ किलो सुन काण्ड कता हरायो’  भन्ने सुनिन्छ । भ्रष्टाचारको समबन्धमा के भयो? भ्रष्टाचारमा धेरै कारवाहीमा परे भ्रष्टाचार त रहेछ नी भन्ने सुनिन्छ ।’ प्रधानमन्त्रीले भन्नुभयाे – ‘त्यसअनुसार नै सरकार बन्ने वित्तिकै सुन तस्करीका कारोबारीहरुलाई गिरफ्तार ग¥यौं । ४६ जनामाथि मुद्दा चल्यो । भारतमा पनि पक्राउ प¥यो, कञ्चनपुरमा जमिनमुनि फेला परेको पनि सुन्नुभएकै होला  ।’

प्रधानमन्त्रीले जो सुकै भएपनि भ्रष्टाचारिलाई कारवाही गर्ने दाबी गर्नुभयाे । ‘जहाँ भ्रष्टाचार छ त्यसमा कारवाही हुन्छ, जो सुकै होस् त्यसमा कारबाही हुन्छ ढाकछोप हुँदैन ।’  प्रधानमन्त्रीले सरकारले देशमा सुशासन र विकाश चाहेको र त्यसका लागि अनियमितता ढिलासुस्ती र भ्रष्टाचारजस्ता कुरा सरकारले नसहने बताउनुभयाे ।

ऐनहरु बन्नु सरकारकाे सफलता

सरकारका काम अग्रगामी, विकास निर्माणका कामहरु तिब्र गतिमा भइरहेको भन्दै अहिले निराश बन्नु पर्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाइ थियो । सरकारले परराष्ट्रनीति, छिमेकसम्बन्ध र अन्तर्राष्ट्रिय मामिलामा नेपालको नीति के हो भन्ने स्पष्ट पारेको पनि उहाँको भनाइ थियो ।

नेपाल सार्वभौम सत्ता सम्पन्न स्वाधिन स्वतन्त्र भौगोलिक रुपमा अविभाज्य देश भएको र देशको रक्षा संवर्धन र यथार्थ प्रयोग सरकारको आधारभूत नीति रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले तेस्रो अधिवेशन अत्यन्तै सफल अधिवेशनको रुपमा रहेको बताउनुभयाे । संसदबाट १ सय २६ वटा ऐनहरु निर्माण भएको भन्दै प्रधानमन्त्री ओलीले कुनै संसदले सायद एक वर्षमा यति धेरै ऐनहरु पारित गरेको नपाइने भन्दै यो ऐतिहासिक रेकर्ड भएको जनाउनुभयाे । यसरी ऐनहरु बन्नु सरकारकाे सफलता भएको प्रधानमन्त्रीको भनाइ थियो ।