उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्नुभएकाे छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गनुृभएकाे छ ।

‘ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु’ अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एकदिनको तलब हावाहुरी प्रभावितलाई दिने नेकपाका सांसदको निर्णय

बारा र पर्सामा आएको भयानक आँधी–हुरीका कारण प्रभावित भएकाहरुलाई नेकपाका सांसदले एक दिनको तलब सहयोग गर्ने भएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत जानकारी दिनुभएकाे छ।

यसअघि, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संघीय संसदहरुले हावाहुरी प्रभावितहरुका लागि दुई दिनको तलब सहयोग गर्ने निर्णय गरेका थिए ।

राहत र क्षतिपूर्तिमा कुनै कसर नराख्न नेकपाको आग्रह

सत्तारुढ दल नेकपाले हावाहुरीबाट पीडित नागरिकहरुलाई उचित राहत र क्षतिपूर्ति दिनमा कुनै कसुर नराख्न सरकारसँग आग्रह गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति मार्फत नेकपाले घटनामा परि घाइते नागरिकहरुको उपचारमा समेत विशेष ध्यान दिन आग्रह गरेको हाे ।

घटना हुनासाथ सरकारको तर्फबाट उद्धारमा देखाइएको तत्परताले थप मानवीय क्षति हुनबाट बचाएको भन्दै नेकपाले हुन गएको ठुलो जनधनको क्षतिबाट पार्टी स्तब्ध भएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत घटनामा ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएकाे छ ।

Youth Communist League, YCL

दीपशिखाको नेतृत्वको वाईसियल पुग्याे  फिल्डमा

आइतबार साँझ मध्यतराईका बारा र पर्सामा आएको हावाहुरीजन्य  घटनाका पीडितलाई सहयोग गर्न वाईसियल केन्द्रिय टिम बारा पुगेको छ । घटनाका पीडितलाई उद्दार र राहत दिन वाईसियल अध्यक्ष दीपशिखाको नेतृत्वमा टिम बारा पुगेको हो ।

दिपशिखाको नेतृत्वमा गएको केन्द्रिय टिम र प्रदेश नं. २ को वाईसियल टिमले अतिप्रभावित बाराको पुरैनिया गाउँबाट उद्दारको कामलाई सुरु गरेको वाईसियल सचिवालयले जनाएकाे  छ । घटनामा परि पुरैनिया गाउँमा १ दर्जनभन्दा बढिको मृत्यु भएको थियो । बाराका पुरैनिया, भरवलिया, विनवलिय र चैनपुर अति प्रभावित क्षेत्र हुन् । पीडीतलाइ आार्थिक सहयाेगकालागि वाइिसएलले देशैभरी आाफनाे संगठनलाइ  निर्देशन गरेकाे छ ।

वाइसियलले पीडितलाई त्रिपाल र खाद्यान्न वितरण गरेकाे छ । आइतबार साँझ आएको हावाहुरीबाट  मृत्यु हुनेकाे संख्या ३१ पुगेकाे छ भने ५०० भन्दा बढी घाइते छन्। घटनामा परि दर्जनौं परिवार घरबिहिन बनेका छन् ।

विद्यार्थी संगठनको माग- मृतक परिवारलाई १० लाख देऊ

सत्तारुढ नेकपाका विद्यार्थीहरु डाक्टर र स्वास्थ्यकर्मीसहित आँधी प्रभावित बारा-पर्सा जिल्लामा परिचालित हुने भएका छन् । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को सोमबार बसेको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने निर्णय गरेको हो ।

‘यस विस्मयकारी घटनाको सन्दर्भमा आजै अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का रञ्जित तामाङको नेतृत्वमा डाक्टरहरु सहितको स्वास्थ्य टोली लाने निर्णय गरियो । साथै दुवै अध्यक्षको नेतृत्वमा दुई नं.प्रदेश र आसपासका दुवै संगठनको सिङ्गो कार्यकर्ता पंक्ति राहत र उद्धारमा परिचालन गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

आँधीमा ज्यान गुमाउनेहरुका परिवारलाई जनही १० लाख राहत तथा परिपुरण रकम उपलब्ध गराउन पनि दुवै संगठनले सरकार समक्ष माग गरेका छन् । साथै घाइतेको निःशुल्क उपचार र घरबास पुनःस्थापनाका लागि तत्काल कदम चाल्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग मागसमेत गरिएको छ ।

मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने

हावाहुण्डरीबाट भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ जनाभन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत छन् । उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचारहरु आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।

सोमबार बिहानै जनकपुरधाममा प्रदेश मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रुपमा ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्राकृतिक विपतमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने क्याबिनेटले निर्णय गरेको छ ।

विप्लवद्धारा घटनाप्रति दुःख व्यक्त, पार्टी पंक्तिलाई उदृारमा जुट्न निर्देशन

हावाहुरीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दुःख व्यक्त गरेको छ । सरकारद्वारा प्रतिबन्धित पार्टी नेकपाले सोमबार विज्ञप्ती जारी गर्दै पार्टी पंक्ति र जनवर्गीय संगठनलाई उद्धारमा जुट्न समेत निर्देशन दिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

मृतकका परिवारलाई राहत, घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्नुका साथै घरबारविहीनहरुको व्यवस्थापनको लागि सम्बन्धित पक्षसँग विप्लवले माग गरेका छन् ।

उद्योग वाणिज्य महासंघले ५० लाख सहयोग गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

महासंघको सोमबार बसेको आकस्मिक बैठकले ५० लाखको राहत कोष खडा गरेर हावाहुरीले प्रभावित बारा र पर्साका पीडितहरुलाई राहत वितरण गर्ने निर्णय गरेको हो । ५० लाख सहयोग गर्ने निर्णय भएको महासंघ अध्यक्ष भवानी राणाले बताउनुभएकाे छ।

बैठकले प्रभावित क्षेत्रमा मानवीय सहायतासँगै खाद्यान्न, त्रिपाल, टेन्ट लगायतका अत्यावश्यक राहत सामग्री भने तत्काल नै वितरण गर्न शुरु गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर २ तथा बारा र पर्साका जिल्ला उद्योग वाणिज्य महासंघमार्फत राहत वितरण गर्ने महासंघको तयारी छ ।

केन्द्र सरकारले पठायो ४६८ वटा त्रिपाल

संघीय सरकारले ४६८ वटा त्रिपाल हावा हुरी प्रभावित जिल्लामा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ ।

५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले जानकारी दिनुभयाे । बारा जिल्ल्लामा १५० वटा त्रिपाल मौज्दात रहेकाले केन्द्र सरकारले ४ सय ६८ त्रिपालमात्रै पठाएको हो ।अब केन्द्र सरकारसँग २ हजार वटा त्रिपाल मात्रै बाँकी रहेको खनालले बताउनुभएकाे छ ।

यसअघि शहरी विकास मन्त्रालय अन्तरगत विपदका लागि आवश्यक सामान किनेर भण्डारण गरिन्थ्यो । तर, हाल त्यो अधिकार गृह मन्त्रालयलाई छ ।

खनालका अनुसार ४ हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको छ । ‘खाद्यान्नको व्यवस्थापन सरकारले ब्यहोर्ने गरी हाललाई स्थानीय तहले नै व्यवस्थापन गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयाे, ‘ स्थानीय स्तरमा उपलब्ध चामल लगायतका खाद्यान्न स्थानीय तहले नै वितरण गर्छन् ।’

संघीय सरकारले विपदका समयका लागि मौज्दात राख्ने गरिएको हेटौंडास्थित खाद्यान्न समाग्रीको गोदाम घर प्रदेश सरकारलाई नै जिम्मा लगाएको छ । त्यहाँ कुन प्रकृतिका कति सामाग्री मौज्दात छन् भन्ने जानकारी संघीय सरकारलाई छैन ।

प्रधानमन्त्री वीरगञ्जमा, अस्पताल पुगेर घाइतेलाई भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीबाट प्रभावित बारा र पर्साका घाइतेलाई भेट गर्नुभएकाे छ ।

सोमबार हेलिकोप्टरबाट बारा र पर्सा पुगेका उहाँले त्यहाँका अस्पतालमा उपचाररत घाइतेसँग भेट गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री ओलीले बाराको कलैया अस्पताल, वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा उपचाररत विरामीलाई भेट गर्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव पनि वीरगञ्ज पुग्नुभएकाे थियाे। प्रधानमन्त्री ओलीले हावाहुरीबाट बढी प्रभावित बाराको फेटा गाउँ भने हेलिकोप्टरबाट निरीक्षण गर्नुभएकाे छ ।

राहत र उद्धारका लागि मानवअधिकार आयोगको अपील

आँधी-हुरी पीडितहरुको उद्धार, राहत र उपचारका लागि राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक अपील जारी गरेको छ ।

ठूलो जनधनको क्षति हुने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै आयोगले प्रकोप प्रभावित जिल्लामा आवश्यक औषधि र चिकित्सकहरुको तत्काल व्यवस्था गर्नुपर्ने, घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन र मृतका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले घाइतेहरुको उद्धार, उपचार तथा मानवीय सहायताका लागि अविलम्ब सहभागी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाजलगायत सबैलाई अपील गरेको छ ।

राजपाद्वारा ५ लाख सहयोग

राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा आँधी र हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । सोमबार विज्ञप्ति जारी गरी राजपा नेपालका संयोजक शरदसिंह भण्डारीले पार्टीको तर्फबाट पनि ५ लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएकाे छ।

राजपाले संकटका बेला राहत र उद्दारमा लाग्न कार्यकर्तालाई आग्रह गरेको छ । नेता कार्यकर्ताहरुले राहत सहयोग संकलन गरी पीडित परिवारलाई सहयोग गर्न पनि आग्रह गरेको छ । प्राकृतिक विपत्तिको घडीमा प्रदेश २ सरकारले देखाएको तत्परताको प्रशंसा गर्दै उहाँले संघीय सरकारलाई समेत राहत र उद्दार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ ।

राजपाले दुखको घडीमा सहयोग गर्न आम नागरिक, व्यवसायी, उद्योगी, संघ संस्था र देश विदेशमा रहेका नागरिकलाई आग्रह गरेका छन् ।

 प्रभावकारी उपचारका लागि राष्ट्रपति र उपराष्ट्रपतिद्वारा सरकारकाे ध्यानाकर्षण

राष्ट्रपति विद्यादेवी भण्डारीले भीषण हावाहुरीका कारण बारा र पर्सामा भएको मानवीय क्षतिप्रति दु:ख व्यक्त गर्नुभएकाे छ।

ठूलो संख्यामा सर्वसाधारण घाइते भएकोमा सहानुभूति प्रकट गर्दै उहाँले घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले आँधीले घर, सवारी साधन, अन्नबाली, फलफूल खेती र भौतिक संरचनामा पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएकाे हाे।

‘हावाहुरी, बाढी, पहिरो, डढेलो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षले समयमा नै पूर्वसावधानी अपनाउनसमेत ध्यानाकर्षण गराउनु भएको छ’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरि,  उपराष्ट्रपति नन्दबहादुर पुनले घटनाप्रति दु:ख व्यक्त गर्नुभएकाे छ। अकल्पनीय प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्नुभएकाे हाे ।

‘प्राकृतिक प्रकोपमा परी धेरै जना घाइते हुनु भएको छ । म घाइतेहरुको पूर्ण स्वाथ्य लाभको कामना गर्दछु । घाइतेहरुको प्रभावकारी उपचारका लागि सरकार र सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु’ उपराष्ट्रपति पुनले भन्नुभएकाे छ।

उहाँले घाइतेहरुको उद्धार, उपचार र पीडितहरुका लागि राहत, पुनर्स्थापना र घर पुनर्निर्माणमा सरकारले विशेष ध्यान दिने आशा व्यक्त गर्नुभएकाे छ । सुरक्षित आवास, सुरक्षित भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको देखिएको भन्द उनले यसलाई विशेष ध्यानमा राख्न संघीय, प्रदेश र स्थानीय सरकारलाई अनुरोध गर्नुभएकाे छ।

‘एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने हामी नेपालीको संस्कार हो । हावाहुरीबाट पीडितहरुलाई स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुले सकेको सहयोग गर्ने अपेक्षा लिएको छु’ उपराष्ट्रपतिको तर्फबाट प्रेस संयोजक मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।