काठमाडौं, आइतबार साँझ आएको हावाहुरी सहितको पानीका कारण बारा र पर्सामा भएको मानवीय र भौतिक क्षतिप्रति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले दुःख व्यक्त गर्नुभएको छ। सोमबार एक शोक वक्तव्य जारी गर्दै पुनले ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्नुभएको छ ।

पुनले घटनामा परि घाइते हुनेहरुको प्रभावकारी उपचारका लागि सरकार र सम्बन्धित पक्षलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । उपराष्ट्रपतिको सचिवालदृारा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘घाइतेहरुको उद्धार, उपचार र पीडितहरुका लागि राहत, पुर्नस्थापना र घर पुनर्निर्माणमा सरकारले विशेष ध्यान दिनेमा विश्वस्त छु ।’

उपराष्ट्रपति पुनले सुरक्षित आवास, र सुरक्षित भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको भन्दै संघीय, प्रदेश र स्थानीय सरकारलाई त्यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

पुनले पीडितहरुलाई सहयोग गर्न सबै नेपालीलाई आग्रह समेत गर्नुभएको छ। आइतबार साँझ हावाहुरी सहित आएको पानीमा बारा र पर्सा सहितका तराईका विभिन्न स्थानमा ३० जनाको मृत्यु र ५०० जनाभन्दा बढी घाइते भएका थिए ।