बारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा-पर्सामा हावाहुरी र आँधीमा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ सहयोग दिने बताउनुभएकाे छ ।

मंगलबार बाराको बेलहियामा आँधी प्रभावित परिवारलाई भेटेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपाका तर्फवाट मृतकका प्रतिपरिवारलाई ५ लाखका दरले राहत सहयोग गर्ने बताउनुभयाे ।

अध्यक्षले आँधीवाट भत्किएका सबै घर सरकारले पुनर्निर्माण गरिदिने  र  खेतीवालीकाे क्षतिपूर्ति सरकारले दिने हुनाले कत्ति पनि हतास नभइ विपत्तिकाे सामना गर्न प्रभावित जनतालाइ आग्रह गर्नुुभयाे ।

अध्यक्ष प्रचण्डसँगै खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रिका यादव तथा नेकपाका प्रदेश नम्बर २ का इन्चार्ज प्रभु साह बारा पुग्नुभएकाे थियाे । अध्यक्ष प्रचण्डसहितको टोलीले बीरगञ्जस्थित नारायणी अस्पताल, नेश्नल मेडिकल कलेज लगायतका अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिनुभएकाे थियाे ।

आइतबार साँझ आएको आँधीका कारण बारा र पर्साका २८ जनाको मृत्यु भएको थियो भने सैयाैँ घरवार बिहिन बनेका थिए ।