काठमाडौं, सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि दुई दर्जन कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र अबिर लगाउँदै मुलधारको राजनीतिमा प्रवेश गराउनुभएकाे हाे । प्रचण्ड निवास खुमलटारमा भएको पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले ढिलोचाँडो विप्लव पनि नेपाल कम्युनिष्ट पार्टीमा आउने दाबी गर्नुभयाे ।
उहाँले युवाहरुको भविष्य सुनिश्चित गर्ने जिम्मा आफ्नो भएको बताउँदै ढुक्क रहेर काम गर्न निर्देशन पनि दिनुभयाे। पार्टीका केन्द्रिय सदस्य झकबहादुर मल्लले बिभिन्न समुहमा रहेका कम्युनिष्टहरु एक हुनुको विकल्प नभएकोले ढिलोचाँडो सबै मुलधारको राजनीतिमा आउनुपर्ने बताउनुभयाे ।
मंगलबार विप्लव नेकपा छाडेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा झण्डै दुई दर्जन युवाहरु प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा विप्लव नेकपाको उपत्यका ब्युरो सदस्य अमृत केसी, कर्मचारी संगठनक केन्द्रिय उपाध्यक्ष राजेश रेग्मी, उपत्यका ब्युरो सदस्य विष्णु क्षेत्री, तामाङ राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय सचिव साङ्गे लामा, जिल्ला पार्टी सचिवालय सदस्य नरेन्द्रराज गिरी, अखिल नेपाल शिक्षक संगठन काठमाडौं संयोजक जयराम खनाल, अखिल नेपाल शिक्षक संगठन जिल्ला सचिव आनन्दराम खनाल,अखिल नेपाल शिक्षक संगठन काठमाडौं संयोजक पुष्पराज केसी, जिल्ला पार्टी सदस्य सज्जन लामा, पुरुषोत्तम बुढाथोकी,अनिल कुमार थापा,विनोद केसी,कुसुम बहादुर क्षेत्री,चरण लामा,अमल लामा, राजकुमार गोतामे,सुमन पाण्डे,खेलकुद संगठन काठमाडौं जिल्ला अध्यक्ष विनोद खड्गी लगायत २५ जना रहनुभएकाे छ ।
उनीहरु मध्ये केहीले आफ्नो अनुभूति राख्दै आफूलाई विप्लवको पार्टीले तनाव दिने गरेको बताए । नवप्रवेशी उपत्यका ब्युरो सदस्य अमृत केसीले अन्य पार्टीमा प्रवेश गरे भौतिक कारबाही गर्ने सम्मको चेतावनी सहनु परेको अनुभूति राखे ।
तामाङ मुक्ति मोर्चाका केन्द्रिय सचिव साङ्गे लामाले आफू मुलधारको राजनीति गर्न सत्तारुढ नेकपामा प्रवेश गर्न तयार भएको स्पष्ट पारे । कर्मचारी संगठनको केन्द्रिय उपाध्यक्ष राजेश रेग्मीले मुलधारको राजनीतिमा नआई सुख नभएको बताउँदै आफूले विगतदेखि पार्टीलाई सहयोग गर्दै आईरहेको जानकारी दिए ।