Martyr Comrade Ratna Kumar Bantawa
 

२०३२ सालको कुरो हो । म बिराटनगरबाट घर फर्किदैँ थिएँ । झापाबाट म पैदल हिँडेर इलाम पुगेँ । म सोझै रत्नकुमार बान्तवाको डेरामा पुगेँ । केही महिनाअघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुङबाट आउँदा त्यहाँ निस्किसकेका थियौं । त्यसो त हामी पहिला नै ‘झापाली’ भइसकेका थियौं ।

कोठामा छिर्ना साथै मैले भारी बिसाएँ र हात मिलाउन थालेँ – कर्‍याप्प हात समातेर । ‘तपाईं थाक्नु भ’को होला, एकछिन आराम गर्नोस् ।’ रत्नले मसिनो तर उही आत्मीय भावले भने ।

त्यहाँ रत्नकुमार, गणेश राई र बसन्त पराजुली कोठा भित्रै थिए । म भने छोरी माइत आएजस्तै फुरुङ्ग थिएँ, आत्मीयता जो थियो ।

Tanka Karki, former Ambassador of Nepal to China
लेखक

मलाई यी तीन जना त्रिरत्न जस्तै लाग्थ्यो – उस्तै उमेर, हित्तचित्त मिलेका । खाइलाग्दा त थिए नै, त्योभन्दा बढ्ता उनीहरुको अनुहारमा निश्चल समर्पण प्रष्टै देखिन्थ्यो । आजभोलि जसलाई ‘व्यवहारवादी’ राजनीति भनिन्छ र ‘मालिक र कारिन्दा’को व्यवहार गरिन्छ, त्यसको कहीँ कतै नामोनिशाना थिएन । लाग्थ्यो हामी एउटै आमाका लाम्टा चुसेका हौँ । अनि मनमनै गम्थेँ, ‘मेरो सानो समर्पण गलत ठाउँमा छैन । यिनीहरु मिशनका पक्का जोधाहा हुन् ।’ बस्, मलाई के चाहियो ?

रत्नकुमार बाँकी दुई जनाका पनि अगुवा त छँदै थिए, ‘शिल र समाधि’मा उस्तै भए पनि ‘प्रज्ञा’मा उनी माथिल्लो कोटीका थिए । अहिले लाग्छ, उनको समर्पण नै ‘प्रज्ञा, शिल र समाधि’को फ्युजन हो – निजात्मक उन्नयनको छक्कापञ्जा या सुतिखेती थिएन ।

म त्यहाँ बस्दाबस्दै उनले धेरै जनासँग संवाद चलाए । कोही अलिक पाका, कोही तरुण – तर ती म भन्दा प्रौढ थिए | बेलुका सँगै खाना खायौँ – खाना उनैले बनाए । अनि हामी हाम्रो ‘बिजनेस’मा लाग्यौँ ।विधार्थी आन्दोलनको चर्चा गर्यौं, कम्युनिष्ट आन्दोलनको नयाँ शिराको चर्चा गर्यौं, ‘झापा विद्रोह’ले प्रशस्त गरेको बाटोमा छलफल चलायौँ । पार्टी बिस्तारका सम्भावनाका कुरा ।

‘यता त उत्साहजनक प्रगति भईरहेको छ । ताप्लेजुङ्गको निम्ति के गर्नु पर्ला ?’ उनले यो पनि भनेका हुन्, माओ त्सेतुङ्गलाई उद्धृत गर्दै, ‘क्रान्ति कार्चोपी भर्नु होइन, न त भोज भतेर गर्नु नै । बिना समर्पण र बिना बलिदान आस गर्नु पनि मिथ्या हुन्छ । क्रान्तिको आफ्नै विज्ञान हुन्छ ।’ उनी बोल्दै गर्दा म भने आफ्नै अघिल्तिर क्रान्तिको घोडा दौडदै गरेको सपना देख्दै थिएँ ।

अलिक अघि मात्रै म बिराटनगर क्याम्पसबाट ‘रेस्टिकेट’ भएको, ४ वर्षअघि SLC मा पनि । आफ्नै जीवनले भन्थ्यो, यो शासन अधम छ, बदल्नुको विकल्प छैन – हेलिनु पर्छ क्रान्तिमा । उनी मलाई ढाडस दिँदै थिए, ‘यो सत्ताको बल नै अत्याचार हो ।’

हामी अबेरसम्म विमर्शमै रह्यौँ । भोलिपल्ट बिहानै म लागेँ आफ्नै दर्गादिशा । यो नै मेरो रत्नकुमार बान्तवासँगको अन्तिम भेट थियो । त्यसको तीन वर्षपछि म काठमाडौँ । भरतले दुःखद समाचार सुनाए, ‘कमरेड रत्नकुमारको शहादत भयो ।’ म खंग्रङ्ग भएँ, ‘नेपाली कम्युनिष्ट आन्दोलनका एक नक्षत्रको अस्त भयो |’

आजभोलि काठमाडौँमै छु । अक्कल झुक्कल ‘सोनाम साथी’लाई भेट्छु । उनलाई देख्दा अनायास म आफैलाई उही इलामको झझल्को आउँछ । आज ऊ सत्ता त छैन तर रत्नकुमारहरु हराउन थालेका छन् ।

आज उनै अमर शहीद क. रत्नकुमार बान्तवाको जन्मदिन तथा स्मृति दिवस । हार्दिक श्रद्धाञ्जली तथा लाख लाख नमन, कमरेड रत्न कुमार बान्तवा !

(नोटः २०७२ फागुन १९ गते नेपाल सरकारले क. रत्नकुमार वान्तवालाई सहिद घोषणा गरेको थियो । २००८ साल चैत २७ गते जन्मिएका रत्न वान्तवाको २०३५ साल चैत २७ गतेकै दिन २७ बर्षकाे उमेरका इलाममा हत्या भएको थियो । – सम्पादक)

(लेखक नेकपाका केन्द्रीय सदस्य तथा चीनका लागि नेपालका पूर्वराजदूत हुनुहुन्छ ।)