काठमाडौं, यही वैशाख १३ गते ७५ वर्षीय जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिनकाे साढे चार बजे आयोजना हुने कार्यक्रममा जनगायकको उपमा पाएका टुहुरेले आफ्ना छानिएका १४ वटा गीत सुनाउनुहुनेछ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरुकाे सहभागिता रहने बताइएकाे छ ।
वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएका टुहुरेले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराउनुभएकाे छ । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उहाँले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।
जेबि टुहुरेको एकल साँझमा जेबि टुहुरे फाउण्डेसन पनि घोषणा गरिनेछ । फाउण्डेसनले जनवादी गीतसंगितको प्रवर्द्धन तथा राष्ट्र सेवा, मानव सेवा र समाज सेवाका क्षेत्रमा काम गर्ने अध्यक्ष निर्भिका टुहुरेले बताउनुभयाे ।
सुनसरीको धरान घर भएका जनगायक जेबि टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उहाँ दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सांसद हुनुहुन्थ्याे।