Narayan Kaji Shrestha Prakash
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले यतिबेला मार्क्सवादी स्कुलिङको सबैभन्दा धेरै आवश्यकता भएको बताउनु भएको छ ।

आज एक कार्यक्रमका बिच अन्तर्राष्ट्रिय मार्क्सवादी प्रशिक्षणको रुपमा मदन भण्डारी एसियाली स्कुलको दोस्रो सत्रको कक्षा उद्घाटन गर्दै सो कुरा बनाउनु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहनु भएका श्रेष्ठले “यो मार्क्सवादी स्कुल एक–दुई सत्र चलेर बन्द हुनु हुँदैन । तर क्रान्तिकारी स्कुल चलाउनु र प्रशिक्षिण गर्नुका साथै यसका सबै सहभागीहरुले क्रान्तिकारी आन्दोलनमा सहभागी हुनु र क्रान्तिकारी विचारलाई व्यवहारमा लागु गर्नु त्यतिकै आवश्यक भएको” विचार व्यक्त गर्नुभयो । उहाँले “आजको समयमा मार्क्सवादी स्कुलिङको सबैभन्दा धेरै ठूलो महत्त्व” भएको बताउनु भयो ।

उहाँले क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी पार्टी हुन नसक्ने उल्लेख गर्दै क्रान्ति दोहोरिन संभव नभएको उल्लेख गर्नुभयो । तत्कालीन अवस्थामा रुसमा पहिलो विश्व युद्धको परिस्थितिमा जसरी क्रान्ति सम्पन्न भयो वा पछि चीनमा जसरी क्रान्ति सम्पन्न भयो, नेपालमा वा अरु कुनै देशमा त्यसरी नै क्रान्ति दोहोरिन नसक्ने कुरा बताउनु भयो ।

“हामीले मार्क्सवादको विकास गर्नका लागि विचारधाराको क्षेत्रमा गहन अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु जरुरी भएको” भन्दै “मार्क्सवादको विकास गर्ने कुरा भने सिद्धान्तलाई व्यवहारको कसीमा जाँच्नु हो” भन्नुभयो ।

उहाँले वर्तमान परिस्थितिमा मार्क्सवादका चुनौतीहरुलाई सामना गर्नुपर्ने बताउँदै विज्ञान तथा प्रविधिले नयाँ फड्को मारेको, उत्पादन प्रविधिमा विकास भएको, सुचना प्रविधि र विश्वव्यापीकरणले संसारलाई नयाँ सन्दर्भमा लगेको कुरा स्मरण गराउँदै आजको विश्वव्यापीकरण र यसको पक्षधरताबारे गम्भीर विश्लेषण गर्नुपर्ने बताउनु भयो ।

अन्तर्राष्ट्रिय मार्क्सवादी स्कुलको उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य लिलामणि पोखरेल, पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राधा ज्ञवाली र विदेशी प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने  नेकपाका केन्द्रीय सदस्य सावित्रा भुसालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । नेकपाका नेता बलराम बाँस्कोटाले अध्यक्षता गर्नु भएको उद्घाटन समारोहको सञ्चालन प्रमेश पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा नेकपाका विभिन्न नेताहरूलाई अतिथिको रूपमा आमन्त्रण गरिएको थियो । कार्यक्रममा मिस्टिकासहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो ।

सर्वहारा वर्गका महान् गुरु तथा बिसौँ शताव्दीका सर्वश्रेष्ठ चिन्तक कार्ल माक्र्सको २०० औँ जन्मदिनको अवसरसँगै विश्वस्तरमा मार्क्सवादको स्कुलिङ सञ्चालन अभियान अन्तर्गत आजबाट नेपालमा मार्क्सवादी स्कुल सञ्चालनमा आएको हो ।

विश्वभर विभाजित र खण्डित अवस्था रहेको कम्युनिस्ट आन्दोलनमा ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहकार्यको एउटा साझा मञ्चको रुपमा विश्वस्तरमा अभियान सञ्चालन गरिरहेको जनताको अन्तर्राष्ट्रिय सभाको एसियाली च्याप्टरको रुपमा नेपालमा सञ्चालनमा रहेको मदन भण्डारी एसियाली स्कुलको व्यवस्थापन समितिमा नेपाल, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान लगायतका विभिन्न एसियाली कम्युनिस्ट पार्टीहरुका महत्त्वपूर्ण नेताहरु रहेका छन् ।

जनताको अन्तर्राष्ट्रिय सभाले विश्वस्तरमा नै मार्क्सवादका आधारभूत विषयहरु र विभिन्न देशका कम्युनिस्ट आन्दोलनका विशिष्ट अनुभवहरु र तिनबाट प्राप्त शिक्षाहरुलाई समेटेर विभिन्न देशहरुमा अन्तर्राष्ट्रिय मार्क्सवादी कक्षाहरु सञ्चालन गर्ने गरेको छ ।

यसको पहिलो व्याचलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको सम्मानमा ‘पुष्पलाल व्याच’को रुपमा नामाकरण गरिएको थियो र गत भदौमा सञ्चालन भएको थियो ।

अन्तर्राष्ट्रिय मार्क्सवादी स्कुलिङ अन्तरगत मदन भण्डारी एसियाली स्कुलको दोस्रो सत्रका कक्षाहरु आजबाट सञ्चालन हुँदैछन्, यसलाई नेपाली कम्युनिस्ट आन्दोलनका एक महत्त्वपूर्ण नेता तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव क. मदन भण्डारीको सम्मानमा ‘मदन भण्डारी व्याच’ नामाकरण गरिएको छ ।

मदन भण्डारी एसियाली स्कुल नेपालमा हालसम्म अन्तर्राष्ट्रियस्तरमा सञ्चालन भएको एक मात्र मार्क्सवादी स्कुल हो । स्कुलमा विश्वका झण्डै १५ देशका प्रशिक्षार्थीहरु सहभागी छन् भने विश्वस्तरबाटै विभिन्न प्रभावशाली कम्युनिस्ट नेताहरुले प्रशिक्षण दिनेछन् । कक्षाहरु बैशाख २२ गतेदेखि जेठ ११ गतेसम्म २१ दिनसम्म सञ्चालन हुनेछन् ।

स्कुलको आयोजनामा विदेशी विज्ञहरूद्वारा २०७६ वैशाख १५ देखि २१ सम्म एक हप्ते भाषा अनुवाद प्रशिक्षण सञ्चालन गरिएको थियो ।