Madan Bhandari School of Asia Inaugural Session
 

काठमाडौँ । सर्वहारा वर्गका महान् गुरु तथा बिसौँ शताव्दीका सर्वश्रेष्ठ चिन्तक कार्ल मार्क्सको २००औँ जन्मदिनको अवसरसँगै विश्वस्तरमा मार्क्सवादको स्कुलिङ सञ्चालन अभियान अन्तर्गत आजबाट नेपालमा मार्क्सवादी स्कुल आजदेखि सञ्चालन भएको छ र यसको आज पूर्वउपप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एक समारोहका बिच समुद्घाटन गर्नुभएको छ ।

विश्वभर विभाजित र खण्डित अवस्था रहेको कम्युनिस्ट आन्दोलनमा ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहकार्यको एउटा साझा मञ्चको रुपमा विश्वस्तरमा अभियान सञ्चालन गरिरहेको जनताको अन्तर्राष्ट्रिय सभा (International People’s Assembly) को एसियाली च्याप्टरको रुपमा नेपालमा मदन भण्डारी एसियाली स्कुल सञ्चालनमा रहेको छ ।

यसको व्यवस्थापन समितिमा नेपाल, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान लगायतका विभिन्न एसियाली कम्युनिस्ट पार्टीहरुका महत्त्वपूर्ण नेताहरु रहेका छन् । जनताको अन्तर्राष्ट्रिय सभाले विश्वस्तरमा नै मार्क्सवादका आधारभूत विषयहरु र विभिन्न देशका कम्युनिस्ट आन्दोलनका विशिष्ट अनुभवहरु र तिनबाट प्राप्त शिक्षाहरुलाई समेटेर विभिन्न देशहरुमा अन्तर्राष्ट्रिय मार्क्सवादी कक्षाहरु सञ्चालन गर्ने गरेको छ ।

यसको पहिलो व्याचलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको सम्मानमा ‘पुष्पलाल व्याच’को रुपमा नामाकरण गरिएको थियो, जुन गत भदौमा सञ्चालन भएको थियो ।

अन्तर्राष्ट्रिय मार्क्सवादी स्कुलिङ अन्तरगत मदन भण्डारी एसियाली स्कुलको दोस्रो सत्रका कक्षाहरु आजबाट सञ्चालन हुँदैछन्, यसलाई नेपाली कम्युनिस्ट आन्दोलनका एक महत्त्वपूर्ण नेता तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव क. मदन भण्डारीको सम्मानमा ‘मदन भण्डारी व्याच’ नामाकरण गरिएको छ । यसका कक्षाहरु बैशाख २२ गतेदेखि जेठ ११ गतेसम्म २१ दिनसम्म सञ्चालन हुनेछन् ।

मदन भण्डारी एसियाली स्कुल नेपालमा हालसम्म अन्तर्राष्ट्रियस्तरमा सञ्चालन भएको एक मात्र मार्क्सवादी स्कुल हो । स्कुलको दोस्रो सत्रमा विश्वका झण्डै १५ देशका विभिन्न कम्युनिस्ट पार्टी, जनवर्गीय संगठन र विभिन्र क्षेत्रका प्रशिक्षार्थीहरु सहभागी छन् भने विश्वस्तरबाटै विभिन्न प्रभावशाली कम्युनिस्ट नेताहरुले प्रशिक्षण दिनेछन् ।