काठमाडौँ, सभासद तथा पुर्व सांसद अनारकली मियाको संसदमा पहिलो पाइला पुस्तक शनिबार काठमाडौँमा विमोचन गरिएको छ ।
रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, पुर्व मन्त्री शान्ता मानवी, ठाकुर चापागाई, लेखिका मिया लगायतले पुस्तकको संयुक्त विमोचन गर्नुभएकाे हाे ।
प्रमुख अतिथि पुर्व प्रधानमन्त्री माधव नेपालले संसदमा पहिलो पाइला पुस्तकमा अनारकली मियाले समाजसँग गरेको बिद्रोहदेखि सभासदसम्मका तिता मिठा अनुभव रहेको बताउनुभयाे । साथै नेता नेपालले अझै पनि समाजमा अन्तर्जातिय बिबाहमाथि बन्देज कायम रहेको र यस्तो विडम्बना अन्त्य हुन जरुरी रहेको धारणा राख्नुभयाे।
बिएन पुस्तक संसारका कार्यकारी प्रमुख सूर्य बीसीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेकपाका स्थाइ कमिटी सदस्य युवराज ज्ञवालीले भन्नुभयाे –’अनारकलीको जोडीले समाजका थोत्रा मूल्य मान्यताका विरुद्ध उदाहरणीय काम गर्नुभएकाे छ। समाज बदल्न चाहनेले सबैभन्दा पहिले आफू बदलिनु जरुरी छ । पुस्तक युवापुस्ताका लागि निकै नै प्ररणादायी देखिन्छ ।’
लेखिका अनारकली मियाले पुस्तक लेखनबारे आफ्ना अनुभव सुनाउनुभयाे । कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा नेत्री शान्ता मानवी, नेकपा केन्द्रिय सदस्य ठाकुर गैरे, राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी लगाएतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । बिएन पुस्तक संसारका अध्यक्ष ठाकुर चापागाईको अध्यक्षतामा सञ्चालित कार्यक्रम पत्रकार आस्था केसीले सञ्चालन गर्नुभएकाे थियाे।
बिएन पुस्तक संसारले बजारमा ल्याएको पुस्तकको बजार मूल्य २ सय ७५ रुपैँया रहेकोछ ।