ललितपुर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड र बेलायती अन्तर्राष्ट्रिय विकास विभागमन्त्री बरोनेस सगबीच भेटवार्ता सम्पन्न भएकाे छ।
अध्यक्ष प्रचण्डकाे निजी निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको सचिवालयले जानकारी दिएको छ। भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरू आर्थिक समृद्धिका लागि अगाडि बढेको बताउनुभएकाे थियाे।
‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्यावहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौँ’।’ – अध्यक्ष प्रचण्डले भन्नुभयाे।
शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको लक्ष्य आर्थिक समृद्धि रहेको उहाँकाे भनाइ थियो। मुलुकमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउँदै प्रचण्डले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औँल्याउनुभयाे।
बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरूको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको धारणा राख्नुभयाे। उहाँले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरूको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको भन्दै नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकारकाे तर्फवाट सहयोगकाे प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।