काठमाडौं, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड बिच बालुवाटारमा ‘वान टु वान’ छलफल भएको छ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिब ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ। बिहान ९ बजे बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र ओली बिचको तीन घण्टा लामाे ‘वान टु वान’ छलफल भएकाे थियाे । तीन घन्टापछि भने पार्टीका महासचिव विष्णु पौडेल पनि छलफलमा सहभागी हुनुभएकाे थियाे ।
अध्यक्षद्वय ओली र प्रचण्ड बिच भएको उक्त छलफलमा सरकारका काम कारबाहीप्रति बाहिर भएका आलोचना, नेकपाको एकता प्रक्रियामा भएको ढिलाई, सरकारले ल्याएको विधेयक तथा जेठ १५ मा सार्वजनिक गर्न लागिएको बजेटलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
त्यस बाहेक नवगठित नेकपा केन्द्रीय सदस्यहरुकाे कार्यक्षेत्र बाँडफाँडकाे बिषयमा छलफल भएकाे श्राेतले बताएकाे छ । केन्द्रीय सदस्यहरुकाे कार्यक्षेत्र बाँडफाँडमा कुरा मिलेपछि स्थायी कमिटीकाे बैठक बाेलाउने तयारी भएकाे श्राेतले बतायाे ।
पाेलिटव्युराे गठनकाे कामले पनि अन्तिम रुप लिन सकेकाे छैन । पाेलिटव्युराे गठनकाे काम नसकिँदै नाम मिडियामा आएपछि अध्यक्षद्वय चिन्तित बनेकाे बताइएकाे छ । पाेलिटव्युराेका आकांक्षीहरुले नेताहरुलाई दवाव दिएकाे हुनाले अहिले पाेलिटव्युराे गठनकाे काम थाँति राखेर केन्द्रीय सदस्यहरुकाे कार्यक्षेत्र वाँडफाँड गरी पार्टी कामलाई गति दिने बताइएकाे छ ।
त्यसबाहेक, पछिल्लो समय सरकारले संसदमा पेश गरेका मिडिया काउन्सिललगायतका विधेयकमा प्रमुख प्रतिपक्ष दल तथा सञ्चारकर्मीहरुले चर्को विरोध गर्दै आएका छन्। नेताहरु बिच छलफलपछि चाँडै नै सचिवालय बैठक बोलाउने विषयमा पनि कुराकानी भएको बताइएको छ।
सार्वजनिक खरिद ऐन संशोधन गर्न बनेको विधेयकका बारेमा निर्माण व्यवसायीहरुले जनाएको आपत्तिका विषयमा समेत दुई नेता बिच कुराकानी भएको बताइएको छ।