काठमाडौं, नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहांका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गर्नुभएको हो ।
दुई देशबीच ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने सहमती भएको छ । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्यसमुह बनाएर काम गर्ने समझदारी समेत बनेको छ । समझादरी अनुसार ऊर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले ऊर्जाको क्षेत्रमा आर्थीक लगानी, प्राविधक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने गरी दुई देशबीच मंगलवार भएको समझदारी ऐतिहासिक कोसेढुंगाको रुपमा लिएको बताउनुभयो ।
हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको भन्दै त्यसका लागी लगानी र प्राविधिक सहयोग गरिदिन आग्रह गर्नुभयो । उहांले नेपालमा लगानीको लागी उपयुक्त अवसर रहेको भन्दै निजि क्षेत्रलाई समेत जलविद्युत क्षेत्रमा लगानीको लागी प्रेरित गरिदिन आफ्ना समकक्षी मन्त्रीलाई प्रस्ताव गर्नुभयो ।
अष्ट्रियाको तर्फबाट त्यहांका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले अष्ट्रिया सरकार नेपाल सरकारका आयोजनाहरुमा सहयोग,लगानी र सहकार्य गर्न ईच्छुक रहेको धारणा राख्नुभयो । उहांले सरकारी आयोजनाहरुमा प्राविधिक र आर्थीक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
‘जलविद्युत र वैकल्पिक ऊर्जाको क्षेत्रमा हाम्रो राम्रो र लामो अनुभव छ । यो अनुभव हामी नेपालसंग समेत शेयर गर्न चाहन्छौ ।’ – मन्त्री रेईचार्डटले हस्ताक्षर कार्यक्रममा भन्नुभयो । मन्त्री पुनले वैकल्पिक ऊर्जा र जलविद्युतको क्षेत्रमा निजी र सरकारी तह दुवैमा सहकार्य अघि बढाउने विषयमा समझदारी वनेको जानकारी दिनुभयो ।
६० प्रतिशत ऊर्जाको स्रोत जलविद्युत रहेको अष्ट्रिया जलविद्युत क्षेत्रको प्रविधिका लागी समेत विश्व प्रसिद्ध छ । अष्ट्रियामा एन्ड्रिजलगायतका विश्व प्रसिद्ध कम्पनी समेत छन् ।