Nanda Kishor Pun Pasang Austria visit
 

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेट वार्ता गर्नुभएको छ । उपराष्ट्रपति पुनले स्थानीय समय अनुसार सोमबार अपरान्ह १२ बजे राष्ट्रपति भवन होफवर्गमा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नु भएको हो ।

भेटघाटका क्रममा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको छ। भेटमा उपराष्ट्रपति पुनले नेपाल र अष्ट्रिया मित्रवत् मुलुक भएको बताउँदै दुई देश बिचको सम्बन्ध थप प्रगाढ बन्दै आइरहेको बताउनु भयो ।

उहाँले दुई देश बिच धेरै समानताहरु रहेको बताउँदै, ‘नेपाल र अष्ट्रिया दुबै भूपरिवेष्ठित र पहाडी मुलुक हुनाले धेरै कुराहरु समान छन्,’ भेटमा उपराष्ट्रपतिले भने, ‘अन्तर्राष्ट्रिय मामिलामा हाम्रा धेरै धारणा समान छन्’ भन्नुभयो ।

उपराष्ट्रपतिले नेपालसँग विभिन्न पक्षमा अष्ट्रियाले गर्न खोजिरहेको सहकार्यप्रति खुशी व्यक्त गर्नुकासाथै नेपाल वैदेशिक लगानीका लागि आधार भूमि भएको बताउँदै लगानीका लागि आग्रह गर्नुभयो । ‘प्राकृतिक सम्पदा, संस्कृति, पर्यटन, कृषि, केवलकार, जलविद्युतका क्षेत्रहरुमा अष्ट्रियासँग हामी सहकार्य गर्न सक्छौँ’, उनले भने, ‘यी क्षेत्रमा लगानीका लागि म अनुरोध पनि गर्दछु ।’

भेटका अवसरमा उपराष्ट्रपति पुनले युरोपियन युनियनले नेपाल वायु सेवा निगमको युरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो । ‘नेपाललाई हवाई सुरक्षा (सेफ्टी)मा धेरै सुधार गरेको छ । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छन्,’ उपराष्ट्रपतिले भन्नुभयो, ‘नेपालले हवाई सुरक्षामा गरेको सुधारका आधारमा युरोपियन युनियनले नयाँ दृष्टिकोण बनाउनेछ भन्ने विश्वास लिएको छु ।’

भेटमा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले अष्ट्रिया र नेपाल बिच धेरै कुरामा समानता रहेको बताउँदै ‘अष्ट्रियाको भन्दा नेपालमा धेरै ठूला पहाडहरु छन् । नेपालमा अग्ला पहाड र अष्ट्रियामा होचा पहाड भए पनि हाम्रा सोचाईहरु समान छन्,’ भन्नुभयो ।

अष्ट्रियाका राष्ट्रपतिले पोल्याण्डको कातोबिच भन्ने शहरमा सम्पन्न सिओपी २४ का दौरान सुरु गरिएको जलवायु परिवर्तन सम्बन्धी लक्ष्य बढाउने अभियानमा समर्थन गरिदिन अनुरोध समेत गर्नुभयो ।

भेटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, उपराष्ट्रपतिका निजी सचिव सुकबहादुर रोका, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल समेत सहभागी हुनुहुन्थ्यो ।