Chairman prachanda
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको सचिवालयले पूर्वभारतीय राजदूत श्यामशरणसँग प्रचण्डको गोप्य भेट भएको भन्ने समाचारको खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले शुक्रबार उक्त समाचारको खण्डन गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् भ्रमपूर्ण समाचारको खण्डन गर्दै स्वकीय सचिव दाहालले लेख्नुभएको छ, ‘कमरेडका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यम छैनन् । बरु, ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसँगको समन्वयमै भइरहेका छन् । हालसालै, कुनै भारतीय व्यक्ति वा निकायसँग उहाँको त्यस प्रकारको गोप्य भेट भएको छैन । तसर्थ, त्यससँग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त छन् ।’

पूरा पढ्नुहोस् सचिवालयको खण्डन

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड प्रचण्डले हालै नेपालका लागि एक पूर्व भारतीय राजदूत श्यामशरणसँग गोप्य भेटघाट गरेको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कमरेड प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय छैनन् । बरु ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसँगको समन्वयमै भइरहेका छन् । हालसालै, कुनै भारतीय व्यक्ति वा निकायसँग उहाँको त्यस प्रकारको गोप्य भेट भएको छैन । तसर्थ, त्यससँग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त छन् ।

त्यस्तै, तरकारीको बिषादी परीक्षण प्रकरणमा अध्यक्ष प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको कूप्रचार भर्त्सनायोग्य छ । मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनुपर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ । नेपालको रूपान्तरणका लागि ठूलो ऐतिहासिक भूमिका खेलेको नेपाली पत्रकार जगतबाट निरन्तर सत्य तथ्य समाचार मात्र आउने कुरामा हामी विश्वास व्यक्त गर्दछौं । धन्यवाद !