Chairman Prachanda, Abdul Hamid
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिच भेटवार्ता भएको छ । राजधानीस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुद्ध, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले आफूलाई चमात्कारको अनुभूति भएको बताउनुभयो । यस्तो अवसर राजनीतिमा नेताहरूले विरलै पाउने उहाँको भनाई थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनबारे बंगालदेशका नेताहरूलाई व्याख्या गर्ने आफ्नो धोको रहेको बताउनुभयो ।

Chairman Pushpa Kamal Dahal Prachanda, Abdul Hamid

बंगलादेशका राष्ट्रपति हमिदले अध्यक्ष प्रचण्डलाई नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै उच्च प्रशंसा गर्नुभयो । यस्तै राष्ट्रपति हमिदबाट आफ्नो पहिलो नेपाल भ्रमणको चर्चा गर्दै नेपाल अत्यन्त सुन्दर मुलुक भएको धारणा व्यक्त गर्नुभयो ।

नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति हमिदले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकताप्रति कृतज्ञता व्यक्त गर्नुभयो । यस्तै नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नयाँ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्ड बिच छलफल भएको थियो ।