भ्लादिमिर इल्यिच लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, लेनिनवादका प्रवर्तक र सिद्धान्तकार एवम् मार्क्सवादका ब्याख्याता र प्रयोगकर्ता हुनुहुन्छ । महान् लेनिनको जन्म सन् १८७० अप्रिल २२ तारिखका दिन सिम्व्रिस्क हालको उल्यानोभस्क शहरमा भएको थियो । यो शहर महान् रुसी नदी भोल्गाको किनारमा पर्दछ । यहीँ नै भ्लादिमिर इल्यिच लेनिनको बाल्यकाल र यौवन अवस्था बितेको थियो । लेनिनका बाजे निकोलाई उल्यानोभ हुनुहुन्थ्यो भने पिता इल्या निकोलायभिच उल्यानोभ हुनुहुन्थ्यो । लेनिनकी आमा मारिया अलेकसान्द्रभ्ना एक चिकित्सककी छोरी हुनु हुन्थ्यो ।
आन्ना, अलेक्सान्दर भ्लादिमिर, ओल्गा दिमित्री र मारिया गरी लेनिनसहित ६ दाजुभाइ दिदीबहिनी हुनुहुन्थ्यो । लेनिन आफ्नो जेठो दाजु अलेक्सान्दरबाट धेरै प्रभावित हुनुहुन्थ्यो । अलेक्सान्दर दरिलो स्वभाव र धेरै उच्च नैतिक चरित्र भएका व्यक्ति हुनुहुन्थ्यो । एक ठाउँमा लेनिनकी दिदी आन्ना इल्चिनिच्ना उल्यनिभ एलिजारोभाले आफ्नो संस्मरणमा भन्नुभएको थियो “प्यारो भाई अलेक्सान्दरको उदाहरण भ्लादिमिरका लागि निकै महत्त्वपूर्ण थियो ।” बालककाल देखि नै लेनिनले हरेक कुरामा दाजुको अनुशरण गर्नुहुन्थ्यो ।
मार्च १८८७ मा अलेक्सान्दर पिटर्सवर्गमा गिरफ्तार हुनुभयो । उहाँमाथि रुसी जार अलेक्सान्दर तृतीयको हत्या षडयन्त्रमा सामेल भएको आरोप लगाइएको थियो र त्यसै वर्षको मे महिनामा अलेक्सान्दरलाई सेलिसेलवर्ग किल्लामा फाँसी दिइएको थियो । दाजुको फाँसीले लेनिनलाई ठूलो चोट पुर्यायो । उहाँले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी संघर्षमा लगाउने संकल्प गर्नुभयो । आन्ना इल्यिनिच्नाले एक ठाउँमा लेख्नुभएको थियो – “अलेक्सान्दर सहिद भए । उनको रगतले चम्किएको क्रान्तिकारी लाली उनकै बाटोमा लागेका भाइ भ्लादिमिरका लागि पथप्रदर्शक बन्यो ।”
जार सरकारद्वारा १३ फेब्रुअरी १८९७ का दिन लेनिनलाई तीन वर्षका लागि पूर्वी साइबेरिया पठाइने दण्ड सुनाइयो । लेनिनको क्रान्तिकारी क्रियाकलापको लागि जारशाही सरकारले यो सँजाय दिएको थियो ।
मे १८९७ मा लेनिन आफ्नो निर्वासन स्थान येनिसेइ गुबेर्नियाको मिनुसिन्स्क जिल्लामा रहेको सुसन्सकोर्य गाउँमा आइपुग्नु भयो । त्यसबेला यो ठाउँ रेलमार्गदेखि सैयौं किलोमिटर टाढा रहेको एकान्त साइबेरियाली गाऊँ थियो । सन् १९३८ मा त्यहाँ लेनिन बस्नुभएको घर संग्राहलयमा परिणत गरिएको थियो । निर्वासनको अवधिभर लेनिनले कठिन दिनहरु गुजार्नु भयो ।
एक वर्षपछि नदिज्दा क्रुप्सकाया सुरुन्सकोये गाउँमा आइपुग्नु भयो । उहाँ पनि ‘मुक्ति संघ’ मामिलामा गिरफ्तार हुनुभएको थियो र उहाँ गुबेर्नियामा निर्वासित हुनुभएको थिएन तर लेनिनकी दुलहीको रुपमा उहाँलाई सुसन्सोकयेमा आफ्नो निर्वासन काल बिताउने अनुमति दिइएको थियो । यहीँ उहाँहरुको विवाह पनि सम्पन्न भयो । क्रुप्सकाया लेनिनको मृत्युपर्यान्त उहाँको निकटतम मित्र, सहयात्री र सहयोगी रहनु भयो । तर लेनिनका सन्तान भएनन् ।
साइबेरियाबाट निर्वासनबाट फर्केपछि लेनिनले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी पार्टी निर्माण र क्रान्तिमा समर्पित गर्ने निधो गर्नुभयो ।
सन् १९१७ अक्टोबर २५ (नोभेम्बर ७) मा लेनिनले लाखौ रुसी मजदुरहरुको सहभागितामा पिटर्सवर्गमा आम जनविद्रोहको पहिलो उदघोष गर्नुभयो । सरकारी सेनाले साथ दियो । लाखौँ मजदुरहरुले वयन्टर दरबारमा बसिरहेको अस्थायी सरकारका मन्त्रीहरुलाई गिरफ्तार गरेर सत्ता कब्जाको घोषणा गरेपछि महान अक्टोबर समाजवादी क्रान्ति सफल भएको थियो । त्यसपछि दफ्तरबन्द गाडी चढेर लेनिन पिटर्सवर्गबाट मस्कोमा आइपुग्नु भएको थियो । त्यस गाडीलाई अहिले मस्कोको युद्ध संग्राहलयमा सुरक्षित राखिएको रहेछ ।
महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एक युगान्तकारी परिघटना थियो । यस क्रान्तिले मानवजातिको इतिहासमा एउटा नयाँ युगको, नयाँ सभ्यताको जग बसाएको थियो । त्यसैले महान अक्टोबर क्रान्ति अमर छ ।
मैले १३ दिने रुसको यात्रा गरेँ । मेरो राजनीतिक जीवनमा रुसी यात्रा अत्यन्तै महत्त्वपूर्ण र ठूलो प्रेरणाको श्रोत बन्यो । यो यात्रा ज्यादै सुन्दर, सभ्य, भव्य र सफल रह्यो । हामी संसार बदल्ने आँट र योजना तथा प्रतिबद्धताका साथ कम्युनिस्ट पार्टीमा संगठित भएर जीवन समर्पण गरिरहेकाहरुको निम्ति मेरो रुसी यात्रा अत्यन्तै अनुकरणीय र अविस्मरणीय बन्न पुग्यो ।
रुसजस्तो देश, जुन देशमा विश्व सर्वहारावर्गका महान् नेता भ्लादिमिर इल्यिचको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक)ले सशस्त्र जनविद्रोहद्वारा सत्ता कब्जा गरेर मानवजातिको इतिहासमा पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व स्थापना गरिएको देश हो । रुस विश्व सर्वहारावर्गका महान नेता भी.आइ. लेनिन र जोसेफ स्टालिनले निर्माण गरेको देश रुसको जानकारी राख्ने सबैलाई त्यस देशमा पुगेर त्यहाँका समग्र विषयमा बुझ्न र जान्न सबैलाई मन लाग्नु स्वाभाविक कुरा हो ।
मैले पनि सानै उमेरमा नेपालको कम्युनिस्ट पार्टीमा संगठित भएर देश र जनताको परिवर्तन गर्ने महान् कार्यमा सम्पूर्ण जीवनलाई जब समर्पण गरेँ, त्यसबेलादेखि नै तत्कालिन सोभियत संघ लगायत विश्व कम्युनिस्ट आन्दोलनको इतिहासको अध्ययन गर्ने, पेरिस कम्युन, महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको इतिहास, महान् चिनियाँ नयाँ जनवादी क्रान्तिको इतिहास, भियतनाम, कोरिया लगायतका देशहरुका वीरतापूर्ण मुक्ति आन्दोलनका इतिहासहरु मेरो क्षमताले भ्याएसम्म अध्ययन गर्ने, बुझ्ने र ती देशका क्रान्ति, परिवर्तन र वीरताका गाथाहरुबाट पाठ सिक्ने कोशिस गरिन्थ्यो र रुस, चीन, भियतनाम, कोरियामा गरिएका क्रान्ति नेपालमा गर्नुपर्छ भनेर घर, परिवार, नीजि सम्पत्ति, सम्पूर्ण व्यक्तिगत स्वार्थ र चाहनाहरुलाई त्यागेर अत्यन्तै खुशी र प्रतिबद्ध भएर नेपाली क्रान्तिका समर्पित हुने पर्ने प्रेरणाहरु मिल्ने गर्थ्याे ।
महान् अक्टोबर समाजवादी क्रान्तिको गौरवपूर्ण गाथाहरुले भरिएको रुसमा पुग्ने र सबै विषयमा अध्ययन गर्ने र बुझ्ने चाहना त पहिलेदेखि नै थियो नै । तर कहिले पुुगिन्छ भन्ने केही ठेगान थिएन । तर महान् रुसी अक्टोबर क्रान्तिले १०० वर्ष पुरा गरेकै दिन अर्थात् सन् २०१० नोभेम्बर ७ (रुसी पात्रोअनुसार) (वि.सं. २०७४ कार्तिक २१) गतेका दिन भौतिक रुपमै लेनिनले आमजन विद्रोहको पहिलो उद्घोष गरेको र लाखौँ रुसी मजदुरहरुले सत्ता कब्जा गरेको विश्व क्रान्तिकै निम्ति ऐतिहासिक शहर लेनिनग्रादमा पुग्ने अवसर मिल्यो । यो मेरो जीवनका लागि गौरवको विषय बन्न पुग्यो ।
वर्तमान रुसमा क्रियाशील क्रान्तिकारी धारका कम्युनिस्ट पार्टी र समुहहरुले महान् अक्टोबर क्रान्तिले १०० वर्ष पुरा गरेको उपलक्ष्यमा रुसको ऐतिहासिक शहर लेनिनग्रादमा २०१७ नोभेम्बर ७ को दिनलाई केन्द्रविन्दुमा राखेर महान् अक्टोबर क्रान्ति सतवार्षिकी दिवस धुमधामकासाथ मनाउनका निम्ति विश्वभरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु, संघ संस्था, भाइचारा पार्टीहरुलाई र व्यक्तिहरुलाई समेत त्यस उत्सवमा आमन्त्रण गर्ने निर्णय गरेका थिए । मलाई पनि रुसी कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ले निमन्त्रणा गर्यो र हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड मोहन वैद्य किरणले रुसी यात्राको सफलताको शुभकामनासहित मलाई विदाई गर्नुभयो ।
म सहित लेखक/पत्रकारहरुको १५ जनाको नेपाली टोली थियो । सन् २०१७ अक्टोबर ३१ तारिख (२०७४ कार्तिक १४) गते फ्लाई दुवई वायु सेवाको उडानबाट काठमाण्डौंबाट रुसको राजधानी मस्कोका लागि रातको १०ः४५ उड्यौं । दुवईको ट्रान्जिट हुँदै स्थानीय समयानुसार २०१७ नोभेम्बर ७ का दिन २ः४० मा रुसको राजधानी मस्कोस्थित भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियौं ।
रुसी अध्यागमन विभागले हाम्रो चेकजाँच सकेपछि हामी विमानस्थलबाट बाहिरिने क्रममा हामीलाई स्वागत गर्न र लिनका निम्ति रुसी कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) का नेता र महान् अक्टोबर क्रान्ति सतवार्षिकी उत्सव मूल समारोह समितिका महासचिव कमरेड दिमित्री कोन्तेस्कोको नेतृत्वमा टोलीले झण्डा देखाउँदै हामीलाई पर्खिरहेको रहेछ । हामी पुग्यौं, गरमागर्मी स्वागत गरियो र हामीलाई आधा भूभाग बसबाट र बाकी मेट्रो रेलबाट यात्रा गराएर हामीलाई बस्न खानका निम्ति बन्दोबस्त गरिएको होटेलमा पु¥याइयो ।
२०१७ नोभेम्बर १ देखि ५ तारिखको राति १० बजेसम्म हाम्रो टोली राजधानीमा बस्ने र त्यहाँको समग्र अध्ययन अवलोकन गर्ने÷गराउने कार्यक्रम बनेको रहेछ र १० नोभेम्बरको राति रेल्वे यात्राबाट लेनिनग्रादतिर प्रस्थान गर्ने र ६ नोभेम्बरदेखि १० नोभेम्बरको रातको १ बजेसम्म लेनिनग्रादमा विविध कार्यक्रमहरुमा सहभागी भएर त्यसपछि नेपाल फर्किने समयसूची बनेको कुरा आयोजक संस्थाले हामीलाई जानकारी गरायो ।
२०१७ नोभेम्बर २ तारिखका दिन हाम्रो टोली र युरोपेली टोली पनि आइपुगेको थियो ः दुवै टोलीलाई मिलाएर एउटै टोलीको रुपमा कमरेड दिमित्री कोन्तेस्कोको नेतृत्व र अगुवाईमा अंग्रेजी भाषाका पथप्रदर्शकहरुका साथ मेट्रो रेल्वेको यात्रा भएर हामी बसेको ठाउँबाट अलि टाढै रहेको मस्कोको रेड स्क्वायरतिर लागियो । बिहान ९ बजेतिर मस्कोको केन्द्र भागमा रहेको ऐतिहासिक रेड स्क्वायरमा पुर्याइयो ।
रेड स्क्वायरको केन्द्रभागमा साम्यवादका प्रवर्तक कार्ल मार्क्सको एक्दमै अग्लो र ठूलो कदको प्रतिमा रहेछ । हामीले मार्क्सप्रति सलामी दिएर फोटो सेसन पनि चलायौं । कतै लेनिनको प्रतिमा पनि छ कि भनेर यताउता हेरियो । कतै देख्न सकिएन । तर पछि थाहा भयो, प्रतिक्रान्तिकारी बोरिस यल्तसिनको सरकारले रेडस्क्वायरमा राखिएको लेनिनका प्रतिमा भत्काएर फालिसकेको रहेछ ।
त्यसपछि हामीलाई रेडस्वायरको पश्चिमपट्टि रहेको लेनिन मेमोरियल हलतिर जानलाई अगाडि बढाइयो । ठूलो संख्यामा मानिसहरु लाइनमा थिए । हामी पनि त्यहीँ लाइनमा सामेल भयौं र क्रमशः अगाडि बढ्दै जाने क्रममा हाम्रो टोली पनि लेनिन मेमोरियल हल भित्र प्रवेश गर्यो । कडा सुरक्षाको चेक जाँचपछि हामीलाई महान् लेनिनको पार्थिव शरीर (शव) राखिएको हलमा पुग्नका लागि अनुमति दिइयो र गाइडहरुको सहयोगमा लेनिनको शव राखिएको हलमा पुग्यौं । महान् लेनिनलाई भावपूर्ण लाल सलाम गरेर हामी बाहिरियौं । यो क्षण अत्यन्तै अविस्मरणीय बन्न पुग्यो ।
त्यसपछि विशाल रेडस्क्वायर स्थलको अवलोकन भ्रमण गरियो । त्यसभन्दा बाहिर रहेका ऐतिहासिक एवम् रमणीय स्थलहरुको अवलोकन भ्रमण सकेर मस्कोमै रहेको लेनिन संग्राहलयको समग्र अध्ययन, अवलोकन गरियो । मस्कोमा चिसो माइनस डिग्रीमा झरेको थियो । मेट्रो रेल्वे यात्राबाट वासस्थानमा पुगियो ।
२०१७ नोभेम्बर ३ तारिखका दिन सुरुमा आयोजक संस्थाले पथप्रदर्शकहरुको सहयोगमा सुरुमा वीरताका सालिकहरुको अवलोकन गरायो र रुसी अन्तरिक्ष यात्री युरी गागरिनले यात्रा गरेको यान (रकेट) को अवलोकन गराइयो । उक्त यानलाई एउटा खुला संग्राहलय बनाएर उडाउनलाई तयारी अवस्थामा रहेको जस्तै गरी वैज्ञानिक रुपमा जडान गरिराखिएको रहेछ, त्यसको अवलोकन गरियो । साथै त्यस दिन मास्को भएर बग्ने विशाल नदीको अवलोकन गरेर पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा जर्मन हिटलरी नाजीवादलाई ध्वस्त पारेका हात हतियार, गोला, बारुद, बम रकेट, मिसाइल आदिको विशाल संग्राहलय रहेछ, ती सबैको अध्ययन अवलोकन गरेर साँझ पुनः बासस्थानतिर प्रस्थान गरियो ।
२०१७ नोभेम्बर ४ तारिखका दिन कतिपय महत्त्वपूर्ण ऐतिहासिक स्थानहरुको अवलोकन सकेर मस्कोभन्दा केही टाढा घना जंगलको बिचमा लेनिन–गोर्की हिल्स भन्ने स्थानमा भव्य रुपमा लेनिन संग्राहलय बनाएर सुरक्षित रुपमा राखिएको रहेछ । अत्यन्तै शान्त र सुन्दर स्थल, जहाँ अन्य मानववस्ती छैन त्यहाँ, त्यस भव्य भवनको पहिलो तलाको बीच भागमा सेतो रंगको अत्यन्तै आकर्ष ठूलो कदको तर बसेकै पोजिसनमा महान् लेनिनको प्रतिमा राखिएको रहेछ । त्यसपछि त्यही तल र दोश्रो तलामा लेनिन सम्बन्धि सन् १९०५ को असफल रुसी क्रान्ति, महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको तयारी गर्ने बेलाको र विजयपछिका घटनाक्रमहरु, लेनिनले अध्ययन गर्ने स्थान र लेनिनद्वारा लेखिएका समग्र पुस्तकहरु जो रुसी भाषामा प्रकाशित भएका रहेछन् ती सबको विशाल पुस्तकालय, अन्य सहयोगीहरुका तस्वीरहरु जो सजाएर राखिएको छ, ती सबैको अध्ययन अवलोकन गरियो ।
त्यही लेनिन–गोर्की हिल्समा नै लेनिनलाई सन् १९१८ मा गोली लागिसकेपछि बिरामी अवस्थामा बसेको र मृत्यु समेत भएको त्यही भवनमा भएको एक ऐतिहासिक म्युजियम बनाएर सुरक्षित रुपमा राखिएको रहेछ । त्यहाँ लेनिन बिरामी अवस्थामा बसेको, भेटघाट गर्ने, अध्ययन गर्ने कक्षाका साथै मृत्युवरण गरेको पलङ, बाथरुम, बैठक कक्ष लगायत अन्य प्रेरणादायिक संग्राहलय बनाइएको रहेछ, ती सबैको गहिरो गरी अध्ययन अवलोकन गर्ने/गराउने काम सम्पन्न भयो ।
२०१७ नोभेम्बर ५ तारिखका दिन मुख्यतः महान् रुसी अक्टोबर समाजवादी क्रान्ति (बोल्सेविक क्रान्ति पनि भनिन्छ) त्यसको पूर्व तयारीको बेला बोल्सेविकहरुमाथि अस्थायी सरकारले भीषण दमनचक्र चलाइएको थियो । प्रेस स्वतन्त्रतामाथि पनि प्रतिबन्ध र आक्रमण गरिन्थ्यो । त्यसो भएर रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक) ले राजधानी मस्कोस्थित मुख्य सडकको एउटा घरमा तीन तला मुनि भूमिगत छापाखाना सञ्चालन गरेको रहेछ र त्यस छापाखानामा पार्टीको मुखपत्र लेनिनको सम्पादकत्वमा प्रकाशित गरिने प्राभ्दा र पार्टीका अन्य प्रकाशनहरु र अक्टोबर क्रान्ति सम्बन्धी अन्य सामग्रीहरु छापेर प्रतिक्रियावादी सरकारका गुप्तचरहरुले समेत थाहा नपाउन भनेर छापाखाना संचालन गरिएको भवनको सडकपट्टि फलफूलको पसल चलाएर फलफूल विक्रीवितरण गरिरहेको देखाउने र अर्को ढोकाबाट पार्टी प्रकाशनहरु सरकारलाई छलेर बाहिर पठाउने अत्यन्तै जोखिम तर महत्त्वपूर्ण कार्य गरेको भवन र प्रेस सम्बन्धी सम्पूर्ण सरसामान राखेर एक ऐतिहासिक संग्राहलय बनाएर सुरक्षित राखिएको रहेछ । त्यसको समग्र अध्ययन अवलोकन गर्ने र प्रेरणा लिने काम सम्पन्न भयो ।
राजधानी मस्कोमा भ्रमण सम्बन्धी अध्ययन अवलोकन र अन्य राजनीतिक, वैचारिक विषयहरुको रुसी कमरेडहरुसँग विचार आदान प्रदान गरेर ५ नोभेम्बरकै राति १० बजे रेल्वे लाइनको यात्राद्वारा कमरेड दिमित्रीको नेतृत्वमा हाम्रो टोली लेनिनग्रादका लागि प्रस्थान ग¥यो र भोलिपल्ट विहान ८ बजे लेनिनग्राद पुगियो र पार्टीले तय गरेको होटेलमा बस्ने काम भयो ।
महान् लेनिनले पहिलो पटक जनविद्रोहको उद्घोष गरेको स्थान लेनिनग्राद पुग्ने बित्तिकै त्यहाँको समग्र विषयमा छिटो अध्ययन अवलोकन गर्नका लागि सबैका मनमा कौतुहुलता सवार हुनु स्वभाविक थियो । त्यसै दिन अर्थात २०१७ नोभेम्बर ६ तारिखका दिन बिहान कमरेड दिमित्रीको नेतृत्व र अगुवाइ तथा आन्द्रेई तथा एलेक्सी जस्ता पथप्रदर्शकहरुको सहयोगमा मेट्रो रेल्वेको यात्राबाट लेनिनग्रादको मुख्य चोकबाट केही टाढा एउटा विशाल पार्कको बीचमा लेनिनको ठूलो कदको प्रतिमा भएको ठाउँमा पुर्याइयो र फोटो सेसनका साथै अन्य विषयको अवलोकन गर्ने काम भयो । त्यसपछि त्यहीँ नजिकै रहेको विशाल भूमिमा रहेको चर्चको अवलोकन गर्र्ने काम पनि सम्पन्न गरियो ।
त्यसपछि स्टालिनको पालामा अर्थात् दोस्रो विश्वयुद्धको समयमा जर्मन हिटलरी नाजीवादलाई पराजित गर्न निर्माण गरिएका अत्याधुनिक हात गोला, बारुद, बम, मिसाइल लगायतका हतियारहरु जर्मन सेनाबाट जफत गरिएका हतियार समेतको लेनिनग्रादको युद्ध संग्राहलय बनाइएको रहेछ, त्यसको सम्पूर्ण अध्ययन, अवलोकन गर्ने काम भयो ।
२०१७ नोभेम्बर ७ तारिखको दिन महान् अक्टुबर क्रान्ति सम्पन्न गरिएको दिन थियो । र यो ऐतिहासिक र वीरतापूर्ण कार्य त्यही लेनिनग्रादमै सम्पन्न भएको थियो ।
लेनिनले विद्रोहको दिन ७ नोभेम्बरलाई नै रोज्नु भएको थियो । त्यतिबेला त्यो शहरलाई पेत्रोग्राद भनिन्थ्यो र रुसको राजधानी पनि त्यही रहेछ । त्यही समयमा राजधानी पेत्रोग्रादमा अखिल रुसी मजुदरहरुको महाधिवेशन हुदै थियो । त्यस महाधिवेशनको सन्ध्यामा मजदुरहरु त्यहाँ ठूलो संख्यामा जम्मा हुने भएकाले लेनिनले त्यही दिनलाई विद्रोहको दिन छान्नु भएको र महाधिवेशनमा आएका मजदुरहरु नै अक्टोबर क्रान्तिका लागि बन्दुक बोकेर अस्थायी सरकार विरुद्ध सशस्त्र विद्रोहमा उत्रिए र ती मजदुरहरुले नै १९१७ (नोभेम्बर ७) मा अन्तरिम सरकारका मन्त्रीहरु बसेको विन्टर प्यालेसलाई कब्जा गरी ती मन्त्रीहरुलाई गिरफ्तार गरेर क्रान्ति सफल गरेका थिए भन्ने जानकारी र अन्य सम्पूर्ण तयारी जस्तो कि राति २ बजे एकै समयमा यातायात, बिजुली र टेलिफोन सेवा बन्द गराएर लेनिनग्राद शहरभरी एकैसाथ गोला बारुद, बमबन्दुक पड्काएर आक्रमण सुरु गरिएको र त्यही बेला सरकारी सेना विद्रोहलाई साथ दिन आएको इतिहास प्राप्त गरियो ।
त्यस दिन विश्वभरबाट अक्टोबर क्रान्तिको शतवार्षिकी उत्सव समारोहमा भाग लिन आउने विभिन्न मुलुकका कम्युनिस्ट पार्टीका प्रतिनिधिहरु आउने क्रम जारी थियो । साँझ लेनिनग्राद शहरमा विशाल जुलुस प्रदर्शनको आयोजना गरियो । त्यसमा हाम्रो नेपाली टोलीले अग्रपंक्तिमा खडा भएर भाग लिएर आफ्नो पहिचान दिने काम भयो । हाम्रो टोलीबाहेक नेपालीहरुका अन्य टोलीहरु पनि थिए । त्यस जुलुसमा विश्वसाम्राज्यवादका विरुद्धमा र विश्व सर्वहारा क्रान्तिका पक्षमा गगनचुम्बी नाराहरु घन्काइएका थिए । झण्डा र ब्यानरले लेनिनग्राद शहर रंगिएको थियो ।
२०१७ नोभेम्बर ८ तारिखका दिन दिउँसो विन्टर प्यालेसको अवलोकन गराइएको थियो । यही दरबारमा अन्तरिम सरकारका मन्त्रीहरु लुकेर बसिरहेको कोठामा मजदुरहरु पुगेर गिरफ्तार गरी ल्याएर महान् अक्टोबर समाजवादी क्रान्ति सफल भएको घोषणा गरिएको थियो, त्यसै दरबारलाई अहिले एउटा विशाल संग्राहलय बनाएर राखिएको रहेछ । त्यहाँ जारशाही शासनकालमा जार शासकहरुले रुसी जनतामाथि कति क्रुर शासन गर्दथे र उनीहरु कति वैभवशाली र सुखसयलमा बाँचेका थिए भन्ने उदाहरणसहित भित्ता भित्तामा चित्रहरु राखेर प्रष्ट पार्ने काम गरिरहेको रहेछ, त्यसको समग्र अध्ययन र अवलोकन गर्ने काम गरियो ।
त्यसै दिन साँझ रात्रिभोजको व्यवस्था गरिएको थियो र विश्वभरबाट आएका खासगरी चीन, कोरिया, जापान, भियतनाम, नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, बर्मा, इन्डोनेसिया, फिलिपिन्स, बेलायत, जर्मनी, बेल्जियम, नेदरल्यान्ड, स्वीजरल्यान्ड, पोल्यान्ड, टर्की, पेरु, क्युबा, भेनेजुयला, ब्राजिल, नर्वे, स्विडेन, डेनमार्कलगायतका देशबाट कम्युनिस्ट पार्टीका प्रतिनिधिहरुका बीचमा विचारहरु आदान प्रदान गर्ने कार्य भएको थियो ।
त्यस कार्यक्रममा बोल्ने वक्ताहरुले आजको पुँजीवादी युगमा लेनिनका विचार र योगदानहरु सार्वभौम छन् । रुसमा मात्र सिमित न राखेर विश्वभर फैलाउनु पर्दछ र संरक्षण गर्नुपर्छ भन्ने विचार बढी राखिएको थियो । अर्थात् १०० वर्षपछिसम्म पनि लेनिनको सान्दर्भिकता कायमै छ भन्ने कुरा राखेका थिए । र, विश्व क्रान्ति, त्यसका विश्वभरका क्रान्तिकारी कम्युनिस्टहरु बीचमा एकता अपरिहार्य छ भन्ने विचार प्रस्तुत भएका थिए । २०१७ नोभेम्बर ९ तारिखका दिन लेनिनग्रादस्थित अर्को लेनिन संग्राहलयको अध्ययन अवलोकन गराइएको थियो । त्यस संग्राहलयमा पनि अक्टोबर क्रान्तिको तयारी र सत्ता कब्जाको बारेमा राजनीतिक पार्टी, वैचारिक तयारी, फौजी तयारी र अन्य तयारीका बारेमा गरिएका कामहरुको सिलसिलेवार इतिहास र सत्ताकब्जा गर्दाखेरिको कलात्मक दृश्यहरु झल्कने पोस्टर चित्रहरु र सत्ताकब्जा गर्दा लेनिनग्रादमा गरिएको जनविद्रोह र विन्टर प्यापलेसमा बसेका अस्थायी सरकारका मन्त्रीहरुलाई मजदुरहरुले गिरफ्तार गरेर बाहिर ल्याएर सत्ताकब्जा गरेको घोषणा गरेको श्रव्यदृश्य देखाइएको थियो । यो लेनिन संग्राहलय विश्वक्रान्तिको निम्ति पनि अत्यन्तै प्रेरणादायक छ ।
२०१७ नोभेम्बर १० तारिखका दिन दिउँसो लेनिनका योगदानहरुको चर्चा–परिचर्चा गर्ने, पुस्तक विमोचन कार्यक्रम पनि भयो र हाम्रो नेपाली टोलीबाट छानिएका लेखक/पत्रकार र रुसी लेखक/पत्रकारहरुलाई मिलाएर नेपाल–रुस लेखक÷पत्रकार मञ्चको गठन गर्ने काम पनि सम्पन्न भयो ।
यसका अतिरिक्त वर्तमान रुसको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था र वातावरणको अध्ययन अवलोकन गर्ने, रुसमा विज्ञान र प्रविधिका क्षेत्रमा गरेको विकास र भौतिक संरचनाहरुको निर्माण, यातायात, शिक्षा र स्वास्थ्य क्षेत्रको बारेमा पनि जानकारी लिने काम गरियो ।
रुसमा सोभियत मोडेलको समाजवादको पतन पश्चात सत्ताहीन हुन पुगेको बोरिस यल्तसिनको सरकारले लेनिनका देशभरका सबैजसो सालिकहरु भत्काइसकेको पाइयो भने स्टालिनको त कुनै नामो निशान नै नराखेर नष्ट पारेको पाइयो । अहिले रुसमा पुँजीवादी व्यवस्था छ । रुसमा अहिले पनि करीब १० वटा कम्युनिस्ट पार्टीहरु रहेछन् । चुनावमा भाग लिएका कम्युनिस्ट पार्टीहरु पनि रहेछन् ।
कम्युनिस्ट पार्टी अफ रसियन फेडेरेसनले चुनावमा भाग लिने गरेको रहेछ । ४५० सिट रहेको रसियाली संसद दुमामा यो पार्टीले ४२ सिट जिती प्रमुख प्रतिपक्षीको रुपमा रहेको छ ।
यस रुसी यात्राबाट मलाई प्रत्यक्ष रुपमा के अनुभूति भयो भने हाम्रोजस्तो अर्धसामन्ती तथा नवऔपनिवेशिक मुलुक होस् वा पुँजीवादी तथा साम्राज्यवादी मुलुकहरुमा क्रान्तिका निम्ति महान् अक्टोबर क्रान्ति एवम् लेनिनका विचार र योगदानहरु प्रेरणाका श्रोत हुन भन्ने कुरामा विश्वभरका क्रान्तिकारी कम्युनिस्टहरु प्रतिबद्ध लाग्नुपर्छ सन्देश महान् अक्टोबर क्रान्तिले दिएको छ । किन आजको युग साम्राज्यवाद र विश्वसर्वहारा क्रान्तिको युग हो, जुन युगको बारेमा महान लेनिनले १०० वर्ष पहिले संश्लेषण गर्नुभएको थियो । त्यसको सान्दर्भिकता आज पनि बढेर गएको छ । किन महान् अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउन रुसको लेनिनग्रादमा भेला भएका विश्वभरका कम्युनिस्ट क्रान्तिकारीका प्रतिनिधिहरुले विश्वबाट हराएका छन् कम्युनिस्टहरु भन्ने सन्देश प्रवाह गरेका थिए ।
सन् २०१७ अक्टोबर ३१ तारिखदेखि नोभेम्बर १२ तारिखका दिनसम्म १३ दिने रुस यात्रा क्रान्तिका लागि जीवन अर्पण गरेकाहरुका लागि ठूलो प्रेरणाको श्रोत बन्यो ।
रुस महान् लेनिनले विश्व सर्वहारा क्रान्तिको उद्घोष गरेको एक गौरवपूर्ण इतिहासले भरिपूर्ण देश हो । रुस त्यो देश हो, जुन लेनिनको नेतृत्वमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएपश्चात् विश्व सर्वहारा वर्ग, उत्पीडित राष्ट्रहरु र उत्पीडित जनसमुदायमा त्यसको प्रभाव पर्यो । त्यसपछि एसिया, युरोप ल्याटिन अमेरिका, अफ्रिका लगायतका महादेशहरुमा क्रान्तिकारी पार्टीहरु निर्माण गर्ने एक प्रकारले लहर नै चल्यो । चीन, कोरिया, भियतनाम, कम्बोडिया, क्युवा लगायतका देशहरुमा क्रान्ति सम्पन्न गरियो । पूर्वी युरोपका बिसौं देशहरुमा सोभियत मोडेलको समाजवाद लागु गरियो । महान अक्टोबर क्रान्तिले संसार निर्माण गर्ने ढोका खोलिदिएको थियो ।
महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको छोटै अवधिमा अर्थात् सन् १९२४ जनवरी २३ तारिखका दिन बेलुकी ६ः३० बजे महान् भ्लादिमिर इल्यिच लेनिनको दुःखद मृत्यु भयो ।
त्यसपछि तत्कालिन सोभियत रुसको जिम्मेवारी जोसेफ विसारिओनोविक स्टालिनले लिनुभयो । दोस्रो विश्वयुद्धमा जर्मन हिटलरी नाजीवादलाई ध्वस्त पार्दै स्टालिनले सोभियत मोडेलको समाजवादलाई समग्र रुसी भूमिमा सफलताका विकास गर्नु भयो । मुलुकलाई भौतिकरुपमा निर्माण गर्दै एक वैज्ञानिक, एक आधुनिक रुसको रुपमा विकास गरेर देखाई दिनु भयो ।
सन् १९५३ मार्च ५ तारिखका दिन स्टालिनको पनि रुसमा दुःखद निधन भयो । स्टालिनको निधनले सोभियत रुसले मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनले ठूलो क्षति बेहोर्नु पर्यो ।
स्टालिनको मृत्युपश्चात निकिता खु्रश्चोभले सोभियत संघको सत्ता सम्हाल्न पुगे । अर्थात कमरेड स्टालिनको मृत्युपछि सन् १९५६ को फेब्रुअरीमा अखिल संघीय कम्युनिस्ट पार्टी (बोल्सेविक) को बिसौं महाधिवेसन सम्पन्न हुँदै गर्दा तत्कालिन राज्यप्रमुख निकिता ख्रुश्चोभद्वारा फेब्रुअरीको २४–२५ तारिखको दिन मध्यरातमा स्टालिनको विरुद्धमा गोप्य रिपोर्ट पेश गर्दै ख्रुश्चोवले स्टालिनप्रति विविध प्रकारका झुठा आरोपहरु लगाउँदै प्रतिक्रान्तिकारी पुँजीवादी कार्यदिशा पेश गरे ।
मार्क्सवादको विकाससँगसँगै संशोधनवाद पनि विकसित हुँदै जानु स्वाभाविक थियो । ख्रुश्चोभ शास्त्रीय संशोधनवाद हुँदै संशोधनवादले आधुनिक संशोधनवादमा विकास हुन पुग्यो । आधुनिक संशोधनवादको सूत्रपात मुख्यतः खु्रश्चोभबाट भयो । उनले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अबलम्बन गर्दै तथा वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्त्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गरे । ख्रुश्चाेभदेखि मिखाइल गोर्भाचोवसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फाँसीवादका रुपमा गिर्न पुग्यो । रुसमा त्यही नै भयो ।
मिखाइल गोर्भाचोभ सोभियत संघका अन्तिम राष्ट्रपति बन्न पुगे । उनी सन् १९८६ मा राष्ट्रपति बनेपछि उनकै समयमा अर्थात् सन् १९९० मा सोभियत संघको पतन हुन गयो र सोभियत संघ १५ टुक्रामा विभाजित हुन पुग्यो । त्यसपछि रुसमा पूर्णरुपमा पुँजीवादी राज्यव्यवस्था पुनःस्थापना हुन पुग्यो । अहिले रुसमा पुँजीवादी शासन व्यवस्था संचालनमा छ ।
महान लेनिनले निर्माण गरेको र स्टालिनले पुनःनिर्माण गरेर भौतिक विकासको चुलीमा पु¥याएको मुलुक रुसमा आज पुँजीवादपन्थीहरुले रँजाई गरिरहेका छन् ।
महान् अक्टोबर समाजवादी क्रान्तिले १०० वर्ष पुरा गरेको अवसरमा सन् २०१७ नोभेम्बर ७ मा रुसको क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले अक्टोबर क्रान्ति शतवार्षिकी उत्सव समारोह मनाउने निर्णय गरेर नेपाल, कोरिया, जापान, बंगलादेश, भारत, पाकिस्तान, इन्डोनेसिया, फिलीफिन्स, श्रीलंका, वर्मा, बेलायत, जर्मन, टर्की, नेदरल्याण्ड, स्वीजरल्याण्ड, स्वीडेन, फिन्ल्याण्ड, बेल्जियम, ब्राजिल, पेरु, क्युवा, बेलायत फ्रान्स, पोल्याण्ड, इटली, भेनेजुयला लगायत विश्वका दर्जनौ देशका क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रतिनिधिहरु र समूहहरुको उपस्थितिमा रुसको ऐतिहासिक शहर जहाँ महान् लेनिनले आमजनविद्रोहको उद्घोष गरेको स्थान लेनिनग्रादमा हामी जम्मा भयौं । सन् २०१७ नोभेम्बर ७ तारिखका दिन साँझ महान् अक्टोबर क्रान्ति अमर रहोस्, महान् लेनिन अमर रहुन्, विश्व सर्वहारा क्रान्ति – जिन्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, विश्व क्रान्ति सम्भव छ, विश्वभरका क्रान्तिकारी कम्युनिस्टहरु एकजुट होऔं, हराएका छैनन् कम्युनिस्टहरु– विश्वबाट भन्ने गगनभेदी नाराहरु घन्काउँदै लेनिनग्राद शहरमा राता झण्डा र व्यानरसहित विशाल जुलुस प्रदर्शन गरेर ऐतिहासिक श्रृंखला थप्ने काम भयो, रुसको ऐतिहासिक शहर लेनिनग्रादमा पुगेर विश्वभरका क्रान्तिकारी कम्युनिस्टहरुको ।
यस ऐतिहासिक जुलुस र लेनिनका विचार र योगदानहरु सार्वभौम छन् । यी महान् लेनिनका विचार र योगदानहरुलाई रुसमात्रै सिमित नराखेर विश्वभर फैलाउनु पर्दछ भन्ने उद्घोष गरेका थियौँ हामी लेनिनग्रादमा जम्मा भएका क्रान्तिकारी कम्युनिस्ट प्रतिनिधिहरुले । यसको सञ्चार विश्वभर फैलिन पुगेको छ । यो महान् अक्टोबर क्रान्ति शतवार्षिकी उत्सव मनाउनुको ऐतिहासिक महत्त्व र उपलब्धि हुन पुगेको छ ।
अन्त्यमा हामीलाई निमन्त्रणा गरेर त्यस महान् अक्टोबर क्रान्तिको शतवार्षिकी उत्सव कार्यक्रममा सहभागी हुन मौका प्रदान गर्नु हुने र रुसका ऐतिहासिक धरोहरहरुको अवलोकन, अध्ययन गराउनु हुने तथा अन्य सहयोग गर्ने रुसका सम्पूर्ण क्रान्तिकारी कमरेडहरुको सहयोग, सद्भाव, वर्गीय मित्रता र प्रेम अतुलनीय र अविश्मरणीय रहेको मैले अनुभूत गरेको छु ।
यो पनि पढ्नुहोस्ः महान् अक्टाेबर समावादी क्रान्तिबारे केही कुरा – क. स्वनाम साथी
यो पनि पढ्नुहोस्ः अक्टोबर समाजवादी क्रान्ति – क. अानन्दस्वरूप वर्मा
यो पनि पढ्नुहोस्ः कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु ?