काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफूले कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्ने बताउनु भएको छ । आज कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा पदभार ग्रहण गर्दै सो कुरा बताउनु भएको हो ।
भुसालले आफूले इमान्दारिताका साथ कृषि मन्त्रीको रुपमा कार्यसम्पादन गर्ने पनि प्रतिबद्धता जनाउनु भयो । बिहीबार कृषि मन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘म लोभ र डरमा काम गर्दिनँ । म सिक्दै बुझ्दै काम गर्छु । कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु ।’
मन्त्री भुसाललाई मन्त्रालयमा बधाई दिन निबर्तमान कृषि मन्त्री चक्रपाणि खनाल पनि पुग्नुभएको थियो । सो क्रममा खनालले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । भुसालले निबर्तमान कृषि मन्त्री खनालसहित सबैको सुझावको आधारमा अघि बढ्ने बताउनु भयो ।