Hon. Prime Minister KP Sharma Oli
 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारका लागि सिंगापुर जान लागेको बताउँदै अझै १५ वर्ष बाँच्ने बताउनु भएको छ ।

बुधबार सिंहदरबारमा संविधान दिवस राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो “केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।”

आफू भोलि सिंगापुर जान लागेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ । अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ । प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र बलिदानको महत्त्वपूर्ण देन रहेको पनि बताउनुभयो ।

“जीउ ज्यानको मात्र बलिदानी हैन, अन्य थुप्रै प्रकारका बलिदानीको योग हो संविधान” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो ।”

प्रधानमन्त्री ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको बताउनु भयो । “संविधान सहमतिको दस्तावेज हो । यसले हरेक व्यक्तिका आकांक्षालाई जस्ताको तस्तै पूरा गर्दैन तर बृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ ।”