Barsha Man Pun, वर्षमान पुन 'अनन्त'
 

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले ऊर्जा मन्त्रालय संयुक्त राष्ट्रसंघले निर्धारण गरेको दिगो विकासको लक्ष पूरा गर्न सक्षम रहेको बताउनु भएको छ ।

दिगो विकास लक्ष प्राप्त गर्ने सन्दर्भमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले दिगो विकास लक्षको बुँदा नम्बर ७ मा उल्लेखित ‘जनताले खपत गर्न सक्ने, भरपर्दो र आधुनिक ऊर्जाको उत्पादन गरेर आम नेपालीको पंहुचमा पुर्याउन’ सक्षम रहेको बताउनु भएको हो ।

मन्त्री पुनले ९० प्रतिशत जनता अहिलेपनि विद्युतको पहुँचमा पुगिसकेको जानकारी गराउँदै आगामी २ वर्षमा त्यो दरलाई शतप्रतिशत पुर्‍याउने र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । दिगो विकासको लक्ष हाँसिल गर्न सरकारले योजना बनाएर अघि बढेको जानकारी गराउँदै उहाँले त्यसमा सफल हुने बताउनु भयो ।