काठमाडौ । संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
आज बकर ईदको उपलक्षमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, “त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भातृत्व, त्याग, सेवा एवं सम्मानको भावना पैदा गर्ने”, विश्वास प्रकट गर्नु भएको छ ।
शुभकामना सन्देशको पूर्ण पाठ
इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा नेपालसहित विश्वभरका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भातृत्व, त्याग, सेवा एवं सम्मानको भावना पैदा गर्ने मैले विश्वास लिएको छु ।
मुस्लिम दर्शनअनुसार मुस्लिम समुदायले यस पर्वको अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय छ । यस्ताखाले सेवाभावका कार्यहरु हामी सबैले आत्मसाथ गर्न सके सहिष्णुता, आपसी सद्भाव र भावनात्मक एकता अझ बढेर जानेछ ।
हाम्रोजस्तो बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय तथा भौगोलिक विविधतायुक्त देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आपसी मेलमिलाप र सद्भावका साथ मिलेर बस्न सबै धर्मका यस्तै सामाजिक दर्शन र चिन्तनले प्रेरणा प्रदान गर्दछन् ।
विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरुले आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछन् । फेरि पनि इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईदले शान्ति, समृद्धि, त्याग, समर्पणभाव र सत्मार्गमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस्, यही शुभकामना व्यक्त गर्दछु ।
साउन २७, २०७६
कृष्ण बहादुर महरा
सभामुख