Miguel Diaz Canel and Nicolas Maduro
 

काठमाडौँ । क्युबाका राष्ट्रपति मिगेल डायज–केनेलले भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो र भनेजुएलाको सरकारप्रति पुनः समर्थन जनाउनु भएको छ ।

समाजवादी गणतन्त्र क्युबाका राष्ट्रपति केनेलले अमेरिकी साम्राज्यवादले भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो र उहाँको समाजवादी सरकारलाई पदच्युत गरी आफ्ना वफादार सेवकहरूको नेतृत्वमा प्रतिकृयावादी सरकार निर्माण गर्ने ‘कू’को प्रयत्न भेनेजुएलाको नेतृत्व र जनताको पहलमा धुलिसात भएपछि विभिन्न आरोपहरू लगाउँदै प्रतिबन्ध र बहिस्करण जेलिरहेको बोलिभारियन गणतन्त्र भेनेजुएला र मादुरो सरकारप्रति पुनः समर्थन जनाउनु भएको हो ।

राष्ट्रपति केनेलले ट्विट गर्दै अमेरिकी आर्थिक प्रतिबन्धको विरोध गर्दै भेनेजुएलाका जनताको प्रतिष्ठा र क्षमतालाई कसैले होच्याउन नसक्ने बताउनु भएको हो । राष्ट्रपति केनेलले शनिबार गरेको ट्विटमा भनिएको छ, “भेनेजुएलाका जनताको बोलिभारियन क्रान्तिकारितालाई कुनै पनि बाह्य शक्तिले तोड्न सक्दैन।”

दुई हप्ताअघि क्युबाका राष्ट्रपति केनेलले भेनेजुएलाको भ्रमण गर्नुभएको थियो । साओ पाउलो फोरमको २५औं बैठकमा सहभागी हुन भेनेजुएला पुग्नुभएका राष्ट्रपति केनेलले भेनेजुएलाको संवैधानिक सङ्कट विदेशीको उक्साहटमा भएको बताउनु भयो । सो बैठकमा राष्ट्रपति केनेलले क्युबाले भेनेजुएलाप्रतिको आफ्नो अडान र विश्वास कहिल्यै नत्याग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार संयुक्त राज्य अमेरिकामा रहेको भेनेजुएलाको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकाले विपक्षी नेता तथा सडकबाट स्वघोषित आफ्ना वफादार सेवक खुवाँ गुइएदोलाई अन्तर्राष्ट्रिय कानुन र प्रचलित परम्पराको धज्जी उडाउँदै अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएपछि भेनेजुएलाले अमेरिकासँगको कुटनीतिक सम्बन्ध गत जनवरीमै तोडेको छ ।

संयुक्त राष्ट्र संघका साथै जनवादी गणतन्त्र चीन, रुसी महासंघ, समाजवादी गणतन्त्र क्युबा, समाजवादी गणतन्त्र बोलिभिया, इस्लामिक गणतन्त्र इरान, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, टर्की, निकारागुवा, मेक्सिको लगायतका विश्वका अधिकांश मुलुकहरूले निकोलस मादुरोलाई संवैधानिक राष्ट्रपतिको मान्यता दिएका छन् ।

अमेरिकी साम्राज्यवादको ईशारामा सर्कसको भालुझैँ नाच्ने करिब एक दर्जन मुलुकहरूले भने अमेरिकाको बोलिमा लोलि मिलाएका छन् । त्यसको बाबजुद पनि भेनेजुएलाका जनता र सरकारले साम्राज्यवादलाई राजनीतिक र कुटनीतिक रूपमा धुलो चटाउन सफल भएका छन् ।

(सिन्ह्वा सहयोगमा)