pushpa kamal dahal prachanda, ishwar pokharel
 

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्धि र विकासको बाटोतर्फ अघि बढाउनका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले पनि नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ, पार्टीभित्रै नेताहरु बिच फुट सिर्जना गर्ने षडयन्त्र भइरहेको छ ।’

उहाँले पार्टी एकतालाई बलियो बनाएर मात्रै राष्ट्रलाई बलियो बनाउन र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न सक्ने बताउनुभयो । अध्यक्षले विचार मिलेर नै पार्टी एकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अगाडि बढ्न खोजिरहेका छौँ । अगाडि बढ्दा इतिहासलाई मेटेर होइन, इतिहासका राम्रा कुरालाई आत्मसात गरे अझ माथि उठ्ने हो ।’ अध्यक्ष प्रचण्डले पार्टी एकताको रक्षा र पार्टी विधानको आधारमा चल्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले यसअघिका अनुभवलाई आत्मसाथ गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो । उहाँले एकतालाई आखाँको नानी जस्तै प्यारो मानेर अघि बढ्नुपर्ने भन्दै भन्नुभयो, ‘अप्ठेरो छ, तर त्यही अप्ठेरोलाई चिर्दै अघि बढ्नुपर्छ ।’