सोभियत संघको विघटनलाई नब्बेको दशकमा एकथरी विश्लेषकहरुले सोभियत शीत युद्धको अन्त्यकोरुपमा मात्र विश्लेषण गरेका थिए । त्यतिबेलाका एक चर्चित विश्लेषक फ्रान्सिस फुकुयामाले त आफ्नो प्रसिद्ध पुस्तक ‘द इण्ड अफ हिस्ट्री’ मा इतिहासकै अन्त्यको घोषणा गरिदिएका थिए । यसको अतिरिक्त एकीकृत भविष्यको विश्व रचनाको आरम्भ भइसकेको समेत भनेका थिए । तर उनको यो भविष्यवाणी लामो समयसम्म कायम रहन सकेन । आफ्नो अर्को पुस्तकमा नै उनले ‘सभ्यताहरुलाई राष्ट्रहरु र तिनका निवासीहरुले भिन्नाभिन्नै तुल्याउँछन् र भिन्न भिन्न देशका निवासीहरुमाथि एकै किसिमका नियम कानुनहरु थोपर्न सकिदैन’ भन्नुपरेको थियो ।
बर्तमान अवस्थामा ब्रिटेनको सन्दर्भमा यदि हामीले फ्रान्सिस फुकुयामाको यो वक्तव्यको परिप्रेक्ष्यलाई हेर्दछौँ भने त्यसले अझ बढी आश्चर्य तुल्याउँछ । यहाँ विश्वको एउटा यस्तो देश जसको साम्राज्यमा कुनै बेला सूर्यास्त नै हुँदैन्थ्यो, त्यो ब्रिटेनको कुरा उल्लेख गर्नु सान्दर्भिक हुनेछ । ब्रिटेनको यस्तो स्थिति झण्डै दुई सय वर्षसम्म चल्दै रह्यो । त्यो कालखण्डमा आफ्ना विकसित यन्त्र र संयन्त्रहरुको सहाराले आफूद्वारा शासित औपनिवेशिक राष्ट्रहरुको केवल अर्थव्यवस्थालाई जबर्जस्त शोषण गरी कंगालीको खाडलमा खडा गरिदिएको मात्र थिएन, त्यसका अतिरिक्त ती उपनिवेश देशहरुमाथि पनि अमरबेली लहराजस्तै छाइरहने शोषणका दाह्रा नङ्ग्रा सबैतिर फैलाइरहने काम गरेको थियो । राष्ट्रमण्डलको रुपमा अहिले पनि त्यसको अवशेष र छायाँ कायमै रहेको छ ।

यस्तो विगतको अनुभव रहेको ब्रिटेनले आज पोल्याण्ड र लिथुनियाबाट आएका मानिसहरुले आफ्नो रोजगारी खोसिरहेको र कतिपय अन्य किसिमका समस्याहरु बढाइरहेको भन्दै युरोपेली संघबाट अलग्गिने निर्णय लिनुप¥यो । पोल्याण्ड, लिथुनिया र अन्य देशहरुबाट ब्रिटेन छिरेका मनिसहरुको संख्या करिब ३० लाख छ र ब्रिटेनको जनसंख्या साढे ६ करोड रहेको छ । यति हुँदाहुँदै पनि बाहिरबाट आएका मानिसहरुमाथि के आरोप लगाइयो भने तिनीहरुले ब्रिटेनको संस्कृतिमाथि नराम्रो प्रभाव पारिरहेका छन् । यस्ता शिकायत र गुनासाहरु केवल ब्रिटेन निवासीहरुको मात्रै छैन, अरु कैयौँ विशेषगरी विकसित युरोपेली राष्ट्रहरुको पनि छ । पश्चिम एसियामा बितेका केही वर्षदेखि चलिरहेको गृहयुद्ध तथा आतंककारी गतिविधिहरुले पनि युरोपेली देशहरुलाई प्रवासीहरुको समस्याकोरुपमा एउटा गम्भीर संकटका अगाडि खडा गरिदिएको छ । त्यसले गर्दा त्यहाँ उग्र राष्ट्रवादी भावना अत्यन्तै तीब्र गतिले फैलिन थालेको देखिन्छ । युरोपली समुदायलाई एकजुट तुल्याएर राख्ने कोशिस हुँदाहुदै पनि यस समुदायका कतिपय देशहरु आप्रवासीहरुको विरोध गरिरहेका छन् र कतिपय देशमा त आप्रवासीहरुका विरुद्ध अभियान नै चलाइँदै आएको छ ।
ब्रिटेनको ब्रेक्जिट निर्णयलाई कतै न कतै अधिकांश युरोपेली राष्ट्रहरुमै भित्रभित्रै सुगबुगाउँदो जनआकांक्षाकै प्रतिबिम्ब या प्रतिनिधित्वकारुपमा पनि हेरिँदै आएको छ । त्यसको अनुगुञ्ज पनि यदाकदा सुनिने गर्दैआएको छ । यद्यपि अहिलेसम्म त्यसलाई बेवास्ता गर्नुलाई नै राम्रो मानिने गरेको थियो । अमेरिकाका बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसै उग्रवादी नाराकै भरमा राष्ट्रपति बन्ने सपना देखेका थिए र त्यसैमा उनलाई अमेरिकीहरुको समर्थन मिल्यो र बने पनि ।
यो त्यही अमेरिका हो, जसको नामबाट आर्थिक उदारीकरणलाई मात्र चिनिँदैन, सांस्कृतिक भूमण्डलीकरणलाई पनि जानिन्छ । विश्व अर्थव्यवस्था र अमेरिकी अर्थव्यवस्था एवम् विश्व संस्कृति र अमेरिकी संस्कृति एक अर्काका पर्यायबाची जस्तै कुरा हुने गरेको थियो । यहाँ एक विचारक सेम्युएल हण्टिङ्गटनको कुरा सही हुँदै गएको हो कि जस्तो लाग्दछ । जसले चेतावनी दिएका थिए कि शीतयुद्धपछिका विसंगतिहरु विश्व शान्तिका लागि खतरा बन्न पुगे भने सभ्यताहरुका बिचको टक्कर सुरु हुनेछ । आईएसको तथाकथित राजनीतिक दर्शन हेर्दा यो पूर्णरुपले इस्लामको स्वार्थपूर्ण संकीर्ण विश्लेषणमा आधारित देखिन्छ । यसले अहिले मूलतः युरोप र एसियाको नाकमा प्याज हालिरहेको प्रतित हुन्छ ।
हुन पनि कुनै पनि राष्ट्रको निर्माण त्यसको भौगोलिक परिस्थिति र हजारौँ वर्षको ऐतिहासिक यात्रबाट हुने गर्दछ । संस्कृति, परम्परा, दर्शन आदिको यो लामो यात्रा देश विशेषको लोक–चेतनामा प्रायः हमेशा कायम रहने गरेको हुन्छ । सोभियत संघको विघटनको मूल कारणमध्ये एक यस्तो लोकचेतनालाई कुल्चिने कोशिस गर्नु पनि हो भन्ने एकथरीको विश्लेषण छ । यस्तै कारणले वर्षौंदेखि आजसम्म प्यालेस्टिनीहरुले आफ्नो देशको माग गरिरहेका छन् । यति मात्रै होइन, आज एसिया तथा अफ्रिकाका कतिपय राष्ट्रहरुमा बेग्ला बेग्लै समूहहरु सत्तामाथि अधिकार हत्याउनका निमित्त रक्तपात मच्चाउन उत्रिएका देखिन्छन् । यस सन्दर्भमा सिरिया र सुडानको सत्य तथ्य पनि कसैको आँखामा लुकेछिपेको कुरा छैन । यस किसिमको राजनीतिक तथा सांस्कृतिक संकटलाई आर्थिक असमानताले अझ गहिरो र गम्भीर बनाइदिएको देखिन्छ ।
विश्वका केही सय मानिहरुको हातमा मात्र सम्पूर्ण विश्वको आधाभन्दा बढी सम्पत्ति बन्धक बनेको छ । यसबाट उत्पन्न हुने विसंगतिलाई सजिलै बुझ्न सकिन्छ । आज यस्ता विसंगतिहरु विकसित र विकासशील सबै देशहरुमा महशुस गर्न थालेको पाइन्छ । त्यसैले यदि यो स्थितिमा परिवर्तन आएन भने भूमण्डलीकरणको उमेर सोभियत संघको उमेरभन्दा पनि कम हुन जाने स्वयं पुँजीवादी विश्लेषकहरुले नै लख काटिरहेका छन्, अरुको त कुरै छोडौँ ।
(लेखक नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुनुहुन्छ ।)









