गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैपक्षसँग आग्रह गर्नुभएको छ ।
पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ‘समृद्ध नेपाल निर्माणको पक्षमा एकताबद्ध होऔं, एकले अर्कोलाई खुट्टा नतानौं ।’
दरिद्र चिन्तन राख्नेलाई जनताले पाखा लगाउने प्रवक्ता श्रेष्ठको भनाई छ । नेकपा सरकारमा छ, सरकारमा छौं भनेर कसैलाई भेदभाव गर्न नचाहेको बताउँदै सबैसँग एकता गरेर अगाडि बढ्न चाहेको उहाँले बताउनुभयो । समृद्धिको पक्षमा साथ नदिनेलाई छाडेर अगाडि बढ्ने उहाँको भनाई छ ।
विद्यालयको भवन निर्माणमा संलग्न सबै पक्षलाई धन्यवाद दिँदै आधुनिक भवनले मात्रै ग्रामीण क्षेत्रमा शिक्षाको विकास नहुने उहाँले बताउनु भयो । गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको उहाँको भनाई छ । गुणस्तर शहरमा मात्र होइन, प्रत्येक गाउँ-गाउँमा हुनुपर्ने श्रेष्ठले बताउनु भयो ।
पूर्वाधार विना राष्ट्रको विकास र समृद्धि सम्भव नभएको दावी गर्दै पूर्वाधारको पनि पूर्वाधार शिक्षा प्रणाली भएको प्रवक्ता श्रेष्ठको भनाई छ । समाजवादी शिक्षा प्रणालीको बारेमा हरेक अभिभावक, गाउँ, टोल, समुदाय, शिक्षण संस्था, स्थानीय तह, प्रदेश, संघीय सरकारमा छलफल गरी गुणस्तरीय र निःशुल्क शिक्षा प्रदान गरी समृद्ध नेपाल निर्माण गर्नुपर्ने उहाँले बताउनु भयो ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा नीति लगानी पारदर्शी र सेवामुखी हुनेपर्ने श्रेष्ठको भनाई छ । नाफा गर्छु भन्ने उद्देश्य लिएर शिक्षा स्वास्थ्य संस्था नखोल्न र बरु अन्य व्यापार, व्यवसाय गर्न उहाँको सुझाव छ । सार्वजनिक महत्त्वका यी विषयहरु राज्यको दायित्त्व भित्रपर्ने उहाँले बताउनु भयो ।
सार्वजनिक शिक्षण संस्थामा गुणस्तरी शिक्षा प्रदान गर्ने कुरा राख्ने तर बालविकासमा शिक्षण गर्ने शिक्षकलाई शिक्षकको व्यवहार नगर्ने, बाँच्ने आधारका लागि सामान्य तलब सुविधा पनि नदिने, विद्यालय खोल्ने अनुमति दिने तर दरबन्दी कहिल्यै नदिने जस्ता गतिविधिप्रति नेकपाको गम्भीर ध्यानाकर्षण भएको र यस समस्या तुरुन्त समाधान गर्न सम्बन्धित निकायले ढिला गर्न नहुने उहाँले बताउनुभयो ।
शिक्षा जीवन सार्थक बनाउने र जिविकोपार्जन गर्न सक्ने हुनुपर्ने उहाँको भनाई छ । अहिलेका प्राविधिक शिक्षा बाँच्न सक्ने बनाउनेभन्दा पनि दास बनाउने प्रकृतिको रहेको उहाँको भनाई छ । शिक्षाले जीवन सार्थक बनाउनुपर्ने, स्वतन्त्र यात्रामा अगाडि बढाउनुपर्छ र त्यस्तो नयाँ मान्छे बनाउनुपर्छ, जो आफै बाँच्न सकोस् । धेरै ठूलो राजनीतिक संघर्षबाट विकास र समृद्धिको नयाँ युगमा देश प्रवेश गरेको बताउँदै देश र जनताका पक्षमा मात्र काम गर्न सबै लाग्नुपर्ने उहाँले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष, पुन:निर्माण प्राधिकरणका इन्जिनियर लगायतले मन्तव्य राख्नुभएको थियो ।