कञ्चनपुर, खानेपानी मन्त्री बिना मगरले थारु समुदायको संस्कृति संरक्षणका लागि आफुले सक्दो पहल गर्ने बताउनुभएको छ । लालझाडी गाउपालिकाले आयोजना गरेको होली मिलन कार्यक्रमको उदघाटन गर्दै मन्त्री मगरले देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला, संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो।
होली मिलन समारोहमा सहभागी भएपछि मन्त्री मगरले राना थारु होमस्टे र उद्यानको शिलान्यास समेत गर्नुभयो । कला संस्कृतिको मात्रै जगेर्ना नभई होमस्टेबाट स्थानीय समुदायको आय आर्जन पनि वृद्धि हुने मन्त्री मगरको भनाइ थियो ।
मन्त्री मगरले कञ्चनपुर जिल्लाको हरेक क्षेत्रको विकास निर्माणमा आफू लागिरहेको बताउनुभयो । बाटो घाटो, पुल पुलेसादेखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेकोे उहाँको स्पष्टोक्ति थियो ।
माघि मिलन कार्यक्रममा रानाथारु पहिरनमै स्टेजमा प्रस्तुत भएकी मन्त्री मगरले थारु संस्कृति यस क्षेत्रको मात्रै नभएर राष्ट्रको सम्पत्ति र पहिचान भएको बताउनुभयो । यसले सुदुरपश्चिम प्रदेशलाइ नै फरक ढंगले चिनाएको भन्दै यसको जगेर्ना गर्न आवश्यक रहेको उहाँको जिकीर थियो ।
स्थानिय बासिन्दाहरुले मन्त्री मगरलाइ विकास निर्माणका १० बुदे ज्ञापन पत्र संगै १० किलोको माला लगाएर स्वागत गरेका थिए । थारु समुदायले चैत्र महिना भरी नै होली पर्व मनाउने गरेका छन् ।
विना मगरको संसदिय कोषबाट यो बर्ष ५० लाखको वाल वाउन्ड्री निर्माण संगै यसको गुरुयोजना अनुरुप सबै कुरा निर्माण गरिने छ भने दक्षिण भेगका सबै गाँउपालिकालाइ पनि यसले जोडने छ । शिलान्यास कार्यक्रममा मन्त्री मगरसंगै लालझाडी गाउपालिका,बेल्डाडी गाउपालिका, बेलौरी नगरपालिका र पुनर्बास नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।


















