Marxist Political Economy, Book, Ram Raj Regmi
 

लेनिनले भनेका छन्, “मार्क्सवाद भनेको जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको १९औं शताब्दीमा मानवताले आर्जन गरेको उत्कृष्ट ज्ञानको नै वैधानिक उत्तराधिकारी हो ।” तसर्थ मार्क्सवादी शिक्षामा यी तीन श्रोत र तीन संघटक अंगहरुको विषयमा अध्ययन गरिनु अनिवार्य छ । यीमध्ये कुनै एकलाई छोडेर मार्क्सको विचारधारा पूर्ण हुन सक्तैन । यस हिसाबले हेर्दा मार्क्सवादमा राजनीतिक अर्थशास्त्रको महत्त्व प्रष्ट हुन्छ ।

मार्क्सवादको दर्शन हो – भौतिकवाद । विज्ञानका नयाँ नयाँ आविष्कारहरुले भौतिकवादलाई द्वन्द्वात्मक अभिव्यक्ति दिनु पर्‍यो । मार्क्सले यो प्रकृति ज्ञानलाई मानव समाजको ज्ञानमा प्रयोग गर्नुभयो । मार्क्सको ऐतिहासिक भौतिकवाद वैज्ञानिक विचारको महानतम् उपलब्धि थियो । यो सिद्धान्तको प्रतिपादन भएपछि सामाजिक जीवनको कुनै एक व्यवस्था उत्पादन शक्तिमा बृद्धिको फलस्वरुप अर्को अझ उच्चस्तरको व्यवस्थामा कसरी विकसित हुन्छ भन्ने ज्ञान प्राप्त हुनसक्यो ।

Comrade Sitaram Tamang
क. सीताराम तामाङ

मानिसको सामाजिक ज्ञानले समाजको आर्थिक व्यवस्थालाई प्रतिबिम्बित गर्दछ । राजनीतिक संस्थाहरु आर्थिक आधारमा खडा हुने भवन हुन् । तसर्थ हामीले बुझ्नुपर्ने कुरो के हो भने राजनीतिक अर्थशास्त्र भनेको मानव समाजको विकासका विभिन्न चरणमा जीवनोपयोगी भौतिक सुख सुविधाको उत्पादन र वितरणको सञ्चालन गर्ने नियमहरु सम्बन्धी विज्ञान हो । उत्पादनको सामाजिक व्यवस्था नै यसको विषय वस्तु हो ।

मार्क्सवादी अर्थशास्त्रले वर्ग संघर्षका सबैभन्दा गम्भीर र महत्त्वपूर्ण प्रश्नहरुलाई प्रष्टसित दर्शाउँछ र वर्ग पक्षधर हुन्छ । वास्तवमा यो मजदुर वर्गको राजनीतिक अर्थशास्त्र हो । यसले मजदुर वर्ग तथा वर्तमान समाजका प्रगतिशील शक्तिहरुलाई वैज्ञानिक भविष्यदृष्टिको मूल्यवान सम्भावना दिएको छ । व्यवहारसित गाँसेर आफ्नो मुलुकलाई वर्ग संघर्षको मूलधारमा लैजान मार्क्सवादी क्रान्तिकारीहरुलाई यसले महत्त्वपूर्ण कुञ्जी प्रदान गर्दछ ।

प्रथम अध्यायः मार्क्सवादी अर्थशास्त्रको सैद्धान्तिक पक्ष

उक्त मार्गदर्शनको आलोकमा लेखक रामराज रेग्मीको ‘मार्क्सवादी राजनीतिक अर्थशास्त्र’लाई हेर्न सक्तछौं । यसले मालेमावादको पक्षधरता लिएको छ कि संशोधनवादको ? लेखकले भूमिकामा “राजनीतिमा उत्रेका प्रारम्भिक तहका कार्यकर्ताहरुका लागि” लेखिएको भनेर सीमा बाँधेका छन् र त्यही सीमाभित्र मिहिनेतपूर्वक लेखिएको कृति भएकोले यो कृति सरल र निबन्धात्मक रहनु स्वभाविकै छ ।

पुस्तकको विषयक्रम हेर्दा सैद्धान्तिक हिसाबले शास्त्रीयतादेखि पुँजीवादको पछिल्लो अवस्था (भूमण्डलीकृत साम्राज्यवाद) सम्मलाई समेटिएको देखिन्छ । अर्थशास्त्रका आधारभूत ज्ञानका लागि यी विषयवस्तु आवश्यक छन् । भूमण्डलीकृत साम्राज्यवादले विश्वव्यापीरुपमा हस्तक्षेप गरिरहेको वर्तमान अवस्थामा हाम्रोजस्तो अल्पविकसित देश(हरु) साम्राज्यवाद विरोधी क्रान्तिको बलियो किल्ला हुन सक्तछ भन्ने हेतुबाट लेखिएकोले पुस्तकको पक्षधरता प्रष्ट नै छ ।

पुँजीवादी उत्पादन पद्धतिको उदयकालमा मार्क्सवादी राजनीतिक अर्थशास्त्र देखा पर्‍यो । मार्क्सवादी अर्थशास्त्रको दोस्रो महान प्राप्ति भनेको अतिरिक्त मूल्यको सिद्धान्तको खोजी हो, जसले पुँजीवादी उत्पादन प्रक्रियामा हुने पुँजीवादी शोषणको गोप्य पक्षलाई च्यातचुत गरिदिएको थियो । यो खोजले मार्क्सवादी अर्थशास्त्रीहरुलाई जुनसुकै समाजमा पनि उत्पादन र विनियमको रुप तथा अवस्थाको साथै उत्पादन कसरी वितरण गरिन्छ भन्ने पत्ता लगाउन सजिलो भयो । यस हिसाबले हेर्दा यो पुस्तकमा पुँजीवादी उत्पादन प्रक्रियामा हुने शोषणको रुपको जुन सामान्यतः ब्याख्या गरिएको छ, स्वभाविकै छ । तर यो पुस्तकमा समाजवादी र साम्राज्यवादी अर्थशास्त्रको शास्त्रीय मान्यता छुटेको देखिन्छ, जुन कुरो मार्क्सवादी अर्थशास्त्रको आधारभूत ज्ञानभित्र पर्दछ ।

दोस्रो अध्यायः मार्क्सवादी राजनीतिक अर्थशास्त्रको व्यावहारिक पक्ष

सिद्धान्तलाई जाच्ने ठाउँ भनेको व्यवहार हो । लेखकले व्यवहारिक पक्ष भनेर सोभियत संघ, चीन र क्युवालाई “मार्क्सवादी अर्थशास्त्रको प्रयोगभूमिको रुपमा छानेका छन् । सोभियत संघमा सशस्त्र विद्रोहबाट समाजवादी अर्थतन्त्र, चीनमा जनयुद्धबाट नयाँ जनवादी अर्थतन्त्र र क्युवामा विद्रोह सफल भएपछि कम्युनिस्ट पार्टी निर्माण गरी समाजवादी अर्थतन्त्र लागु गरिएको थियो ।

सोभियत संघमा स्टालिनका कमजोरी कारण ठूला योजना र उद्योगहरुमा नोकरशाहहरुको पकड बढेको कारण व्यक्तिवादी प्रवृत्ति हावी हुँदाको परिणामस्वरुप क्रान्तिकारीहरुको रगत पसिनाले स्थापना भएको समाजवाद पुनः पुँजीवादी दिशातिर मोडिन गएको निष्कर्ष निकालिएको छ । सोभियत संघको सज्ञामा खुश्चेवजस्तो पुँजीवादको दलाल “संशोधनवादी तत्त्व” पुगेको कारण नियतवशः पुँजीवादको पुर्नस्थापना गरिएको कुरालाई लेखकले नजरअन्दाज गरेका छन् । नेतृत्व सही क्रान्तिकारी धारको भएको भए गल्ति कमजोरीलाई सच्च्याएर समाजवादी अर्थतन्त्रको धारलाई अगाडि बढाउन सक्तथ्यो तर स्टालिनलाई गालीगलौज गर्ने नाममा समाजवादी धारलाई नै त्याग्नुपर्ने थिएन ।

चीनमा क्रान्ति सफल भएपछि सन् १९५६ मा पुँजीवादी अर्थनीति नै कायम राख्ने कि समाजवादी अर्थनीति लागु गर्ने विवादको बिच माओले फलामलाई तातेको बेला हान्ने (Hit the iron when it is heated) को नीति लिए । ल्यू साओची र देङ सियाओ पिङ जस्ता पुँजीवादी पथगामी (Capitalist Roaders) माओको लाइनको विरोधी थिए । माओ समाजवादभित्र पनि पुँजीवादको अवशेष रहने हुँदा संघर्ष जारी राख्नु पर्छ भन्दथे भने पुँजीवादी पथगामीहरु “पुँजीवादी विकासमा पछिपरेको चीनमा वर्ग संघर्ष होइन, उत्पादनमा जोड दिनुपर्छ र समाजवादी अर्थतन्त्रको विकासका लागि पुँजीवादको आधार तयार गर्नुपर्छ” भन्थे ।

माओको महान सर्वहारा सांस्कृतिक क्रान्ति यिनै ल्यू साओ ची र देङ सियाओ पिङको लाइनको विरुद्ध थियो । तर माओको मृत्युपछि पुनः ल्यू साओची र देङ सियाओ पिङ पक्षधरहरु नै सत्तामा आए । महान सांस्कृतिक क्रान्तिलाई गम्भीर बाम गल्ति र अर्थतन्त्रलाई रुग्ण पारेको आरोप लगाए । त्यसको परिणाम समाजवादी धार उल्टिनु स्वभाविक थियो ।

जसै पुँजीवादी व्यवस्थाको पुनर्स्थापना भयो, त्यो सत्ताले सर्वप्रथम कम्युनलाई निजी क्षेत्रमा लग्यो । स्वदेशी किसानले मात्र नभएर विदेशी किसानले पनि करारमा जमिन लिन पाए । घर बनाउने र विक्री गर्न पाए । स्वदेशी र विदेशीले निजी कारखाना सञ्चालन र व्यापार गर्न पाए । ठूला होटल, शिक्षा र स्वास्थ्य सेवा सञ्चालन गर्न पाए । त्यसलाई समाजवादी बजार अर्थतन्त्र भनियो । यसलाई लेखकले भनेका छन्, “चीनले आजसम्म समाजवादी ध्येय नछाडेको र आलोचना गरिएअनुसार पुँजीवादी मार्ग नसमातेकै देखिन्छ ।”

जहाँसम्म क्युवाको कम्युनिस्ट पार्टीको कुरो छ, सोभियत संघको विघटनपछि त्यसमा पनि परिवर्तन देखा पर्‍यो । सन् १९९१ मा भएको चौथो महाधिवेशनले “मजदुर वर्गको पार्टी”को सट्टा “क्युवाली राष्ट्रको पार्टी” भएको घोषणा गर्‍यो । धर्ममा विश्वास गर्नेहरुलाई पार्टीमा प्रवेश थिएन, अब खुल्ला गरियो । यसले अर्थतन्त्रमा बजारवादी पद्धति अपनाउन सुरु गर्‍यो तर पनि चीन, भियतनाम लाओस जस्तो पूर्ण बजारवादी देखिँदैन । अर्को राम्रो पक्ष के छ भने क्युवाले दक्षिण अमेरिकाको क्रान्तिकारीहरुलाई समर्थन गर्दै आएको छ । भेनेजुयला र बोलिभियाको बामपन्थी नेतृत्वलाई समर्थन गरेको छ ।

सामान्य समीक्षा गर्दा के देखिन्छ भने विद्वान लेखक रामराज रेग्मीले जति मिहिनेत गरेर प्रस्तुत पुस्तक लेख्नु भएको छ, मालेमावादको क्रान्तिकारी धारलाई अझै दह्रोसँग पक्डेको भए पुस्तकले नेपाली क्रान्तिको बौद्धिक बहसमा थप योगदान गर्न सक्दथ्यो कि ? यसमा उहाँका आफ्नै सीमा र बाध्यताहरू पनि नहोलान् भन्न सकिन्न ।

जे होस्, मार्क्सवादी राजनीतिक अर्थशास्त्र जस्तो गम्भीर विषयलाई यति सरल ढंगले पस्कन सक्नु भएकोमा उहाँलाई धन्यवाद नदिइरहन सकिँदैन । प्रस्तुत पुस्तक पठनीय र संग्रहणीय मात्रै नभई मार्क्सवादी राजनीतिक अर्थशास्त्रमा जिज्ञासु तथा सोधकर्ताहरुका लागि एउटा अति महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्न सक्दछ र यसलाई नेपालका सबै अर्थशास्त्रका पाठ्यक्रममा समावेश गरिनुपर्छ ।

सरल भाषामा लेखिएको प्रस्तुत पुस्तकलाई नेपालका सबै कम्युनिस्ट पार्टीहरूले आफ्नो पार्टी स्कुलको पाठ्यक्रममा समावेश गर्नु उपयुक्त देखिन्छ भने समाजवादोन्मुख नेपाल निर्माण गर्ने भनी लागिपरेका नेपालका नीति निर्माताहरुले समेत कम्तिमा एक पटक हेर्नै पर्दछ ।

पुस्तकको नामः मार्क्सवादी राजनीतिक अर्थशास्त्र

पृष्ठ संख्याः ३५६ ‌‍‌+ ४

लेखकः रामराज रेग्मी

मूल्यः रू ४७५/-

प्रकाशकः जागरण बुक हाउस, अद्वैत मार्ग, काठमाडौँ ।