चितवन । पार्टीका पोलिट ब्युरो सदस्य तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक मात्र छोरा प्रकाश दाहालको मंसिर ३ गते आकस्मिक हृदयघातबाट मृत्यु भएपछि शोकाकुल भएको नेकपा (माओवादी केन्द्र) मा पार्टीका अर्का नेता तथा जनगायक खुसिराम पाख्रिनको निधनले थप शोक आइलागेको छ ।
आज बामगठबन्धनद्वारा चितवनको भरतपुर महानगरपालिकाको हाकिम चोकमा आयोजित चुनावी सभालाई प्रकाश दाहालको स्मृतिमा श्रद्धाञ्जली सभाको रुपमा रुपान्तरित गरिएको थियो ।
उक्त श्रद्धाञ्जली सभामा सहभागी भएका जनगायक खुसिराम पाख्रिनलाई मञ्चमा नै आकस्मिक हृदयाघात भएपछि तत्कालै नारायणी सामुदायिक अस्पताल लगिएकोमा अस्पतालमा पुराउँदा पुराउँदै पाख्रिनको निधन भइसकेको समाचार प्राप्त भएको छ ।
वि.सं. २०३८ सालदेखि जनताका गीत गाउँदै नेपाली कम्युनिस्ट आन्दोलनमा होमिएका पाख्रिनका एक छोराको जनयुद्धको क्रममा सहादत भएको थियो । पूर्व सांसद समेत रहेका सुमधुर स्वरका धनी पाख्रिन चितवनका जनताको बिचमा एक लोकप्रिय नेता हुनुहुन्थ्यो । जनगायक खुसिराम पाख्रिनलाई हार्दिक श्रद्धाञ्जली ।