काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीकाे स्मरण गर्नुभएकाे छ । मनमोहन स्मृति प्रतिष्ठानले सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले वर्तमान सरकार स्व. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको बताउनुभयाे ।
स्व. अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व. अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताउनुभयाे । अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको धारणा राख्नुभयाे ।
प्रधानमन्त्रीले भन्नुभयाे – ‘चुनौतीका बीचमा पनि उहाँले गर्नुभएको काम निकै महत्वपूर्ण थिए ।’ एकातिर राजतन्त्र फर्कने चाहना र अर्कातिर जनयुद्धको तयारीले गर्दा स्व. अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा निकै चुनौती रहेको प्रधानमन्त्री ओलीले बताउनुभयाे । अधिकारीपछिको पार्टी नेतृत्वले यी दुवै चुनौती सामना गरेको उहाँको भनाइ थियाे ।
वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘विभिन्न कानून निर्माणमार्फत् संविधान कार्यान्वयन हुने दिशामा रहेको छ ।’
प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मीराज मानन्धरले नेपालको वाम आन्दोलनमा स्व. अधिकारीको भूमिका अनुकरणीय रहेको बताउनुभयाे । कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायको उपस्थिति थियो । प्रतिष्ठानले बर्सेनि उहाँको स्मृतिमा कार्यक्रम आयोजना गर्दै आएको छ ।
२०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बन्नुभएको थियो । संसदबाट निर्वाचित पहिलाे कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको वाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो ।
अधिकारी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो । २०४६ सालको जनआन्दोलन ताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको संस्थापक अध्यक्ष बन्नुभएको थियो । अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।