काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले क. नरबहादुर कर्मचार्य को घरमा बसेर आफूले जनयुद्धको सम्पूर्ण तयारी गरेको बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार पार्टीका संस्थापक नेता क. नरबहादुर कर्मचार्यको छैठौँ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
‘मैले नरबहादुर कर्मचार्य कै घरमा बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेको हुँ’, अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘म युद्धमा हामफाल्दै छु भन्ने कुरा उहाँलाई थाहा थियो ।’ कर्माचार्य पार्टी, आन्दोलन, राष्ट्र र वर्गप्रति समर्पित र निरन्तर आन्दोलनमा लाग्ने व्यक्तित्व भएको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले कर्मचार्य कम्युनिस्ट आन्दोलन र पार्टी एकताको पक्षमा रहेको र त्यसैलाई निरन्तरता दिन आफूहरु एकताको प्रक्रियामा अगाडि बढेको दाबी गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले आफूहरुले चाहेको समृद्धि सामाजिक न्यायसहितको समृद्धि भएको प्रष्ट पार्नु भयो । उहाँले भन्नुभयो, ‘सामाजिक न्याय बिना केही मान्छेहरु मात्र धनी हुने र बहुसंख्यक मान्छे गरिब हुने ‘सिस्टम’ले मानव जातिको कल्याण गर्नै सक्दैन । सबैले उपभोग गर्ने समृद्धिको मोडेल नेपालबाट दिन सक्नुपर्दछ ।’
अध्यक्ष प्रचण्डले साउन महिनाभित्र नै पार्टीको सचिवालय र स्थायी कमिटी बैठक बसेर देशैभर अभियान सञ्चालन गर्ने घोषणा गर्नुभयोे । सरकारका कामलाई प्रभावकारी पार्दै पार्टीलाई आम नागरिकका समस्या समाधानमा केन्द्रित गर्ने उद्देश्यले देशैभर अभियान सञ्चालन गर्ने अध्यक्षको भनाई थियाे । उहाँले भन्नुभयो, ‘त्यसका लागि साउन महिनाभित्रै पार्टीको सचिवालय र स्थायी समिति बैठक बस्छ ।’ पार्टी एकतालाई अन्तिम रुप दिने र सरकारलाई प्रभावकारी पार्नेगरी अहिले पार्टीमा छलफल चलिरहेको उहाँको भनाई थियो ।
यो पनि पढ्नुहोस्ः
प्रकाशलाई क. नरबहादुर कर्माचार्यले अति माया गर्नुहुन्थ्यो : अध्यक्ष प्रचण्ड