काठमाडौँ । धौलागिरी हिमालको काखमा अवस्थित सुन्दर नगरी बागलुङको धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गडमा बागलुङ महोत्सव सुरू भएको छ र महोत्सवलाई एक भव्य समारोहका बिच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ ।
बागलुङ उद्योग वाणिज्य संघले पर्यटन वर्ष २०२० लाई लक्षित गरी आयोजना गरेको बागलुङ महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभआका अध्यक्ष तिमिल्सिनाले बागलुङ महोत्सव लगानी भित्राउन फलदायी हुने बताउनु भएको छ ।
उहाँले देश समृद्ध हुनका लागि उद्योगहरु खोल्नुपर्ने बताउँदै लगानीकर्तालाई यस क्षेत्रमा लगानी गर्न आग्रह समेत गर्नुभयो । उद्योग वाणिज्य संघले चुनावी महौललाई मात्र नहेरी देश र समाजका लागि पनि काम गनुपर्ने उहाँको धारणा थियो ।
अध्यक्ष तिमिल्सिनाले अहिले प्रदेश सरकारले उद्योग ग्रामको लागि वातावरण बनाइदिएको बताउँदै त्यसबाट फाइदा लिनका लागि लागनीकर्ताले लागनी गरे प्रतिफल पनि राम्रो हुने बताउनुभयो । नेपाल सरकारले पर्यटन वर्ष सफल बनाउन २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको समयमा बागलुङ उद्योग वाणिज्य संघले महोत्सवको १० दिन भित्र ५ लाख दर्शक भित्र्याउने लक्ष्य राख्नु सकरात्मक पक्ष भएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा संघीय प्रतिनिधि सभा सदस्य तथा नेकपाका स्थायी समिति सदस्य क. देवेन्द्र पौडेल, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष श्रीदक्ष पौडेल, बागलुङ नगरपालिकाका प्रमुख जनकराज गौतम, बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्तकुमार श्रेष्ठ, जयराम भारी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, नेपाली कांग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् मेला महोत्सव संयोजक दिलसुन्दर श्रेष्ठ नेपाल पत्रकार महासंघ शाखा बागलुङका अध्यक्ष दिल श्रीष लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको स्वागत, महासचिव नरेश कँडेलको सञ्चालनमा सम्पन्न भएको छ ।
‘कला संस्कृतिको संरक्षण, कृषि पर्यटन, उद्योग तथा व्यापारको प्रबर्द्धन’ भन्ने नाराका साथ गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवम् बागलुङ महोत्सव पौष ११ गतेदेखि २० गतेसमम सञ्चालन हुनेछ ।
महोत्सवमा २ सयभन्दा बढी व्यापारिक स्टलहरु राखिएको छ । महोत्सव सुरू हुनुअघि विभिन्न स्थानीय संस्कृति झल्किने झाँकीसहित बागलुङ बजार परिक्रमा गरिएको थियो ।
तस्वीरमा बागलुङ महोत्सवका झलकहरूः