काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा सुपरिचित लेखक क. परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचन भएको छ ।
आइतबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत सामाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित एक समारोहका बिच जागरण बुक हाउसद्वारा प्रकाशित नयाँ पुस्तकको विमोचन गरिएको हो । हिजो एउटै पार्टीका अध्यक्ष रहनुभएको र भावी दिनमा पार्टी एकतासहित उहाँहरूलाई सँगै देख्ने चाहनासहित दुवै नेताहरूलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको आयोजकहरूको भनाइ थियो ।
नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशाबारे बहसमूल सो पुस्तकमाथि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक क. आहुति, नेकपा (माओवादी केन्द्र) का नेता क. राम कार्की ‘पार्थ’ र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बन्धु चन्दले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका नेता तामाङले बुद्धपथ (२०७६), नयाँ नेपालको प्रश्न (२०७१), नेपालको परिप्रेक्ष्यमा जातीय स्वशान र संघीयता (२०६८), संघीय लोकतान्त्रिक गणतन्त्रको ढाँचा (२०६५), तामाङ संस्कार (२०५५), जनजाति र राष्ट्रवाद (२०५४), तामाङ जाति (२०५१) लगायतका विभिन्न पुस्तकहरू लेखिसक्नु भएको छ ।
जागरण बुक हाउसले लामो समयदेखि प्रगतिशील तथा वामपन्थी विचारधाराको प्रतिनिधित्व गर्ने पुस्तकहरूको निरन्तररूपमा प्रकाशन गर्दै आएको छ । नेपालमा जनवादी क्रान्ति पूरा भए/नभएको, दश वर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनका उपलब्धिमूलक भए/नभएको, नेपाली क्रान्तिको कार्यदिशा सम्बन्धमा गम्भीर बहस प्रारम्भ भइरहेको समयमा प्रकाशित नयाँ पुस्तक ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ समय सान्दर्भिक मात्र नभई नेपाली कम्युनिस्ट आन्दोलनप्रति रुचि राख्ने, कम्युनिस्ट आन्दोलनमा आबद्ध तथा सक्रिय नेता कार्यकर्ताहरूका साथै अनुसन्धानकर्ताहरूका लागि समेत महत्त्वपूर्ण अध्ययन तथा सन्दर्भ सामग्री हुने कुरा अध्यक्ष प्रचण्डसहितका वक्ताहरूले बताउनुभएको छ ।
पुस्तकका लेखक क. परशुराम तामाङको अध्यक्षतामा सम्पन्न सो विमोचन कार्यक्रममा प्रमुख अतिथिद्वय, टिप्पणीकारहरू र उपस्थित सबैलाई प्रकाशक संस्था जागरण बुक हाउसका क. गणेश चितौरेले स्वागत गर्नुभएको थियो भने सञ्चालन नेकपा (माओवादी केन्द्र) का किसान नेता क. नहेन्द्र खड्काले गर्नुभएको थियो ।