रामेन्द्र खड्का, ramendra khadka
 

काठमाडौँ । नेपाली शिक्षकहरूको साझा तथा गौरवशाली संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले राजनैतिक आस्थाका आधारमा प्रहरीद्वारा गिरफ्तार गरिएका शिक्षक रामेन्द्र खड्काको अविलम्ब रिहाइको माग गरेको छ ।

आज एक विज्ञप्ति प्रकाशन गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले श्री भैण्डाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक रामेन्द्र खड्कालाई राजनीतिक आस्थाको आधारमा गिरफ्तार गरिएको जनाउँदै तत्काल रिहाइको माग गरेको हो ।

शिक्षक संगठनका जिल्ला अध्यक्ष जीतबहादुर थापा र सचिव वीरबहादुर चोखालद्वारा हस्ताक्षरित विज्ञप्तिमा “गण्डकी प्रदेश, बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नं ८ स्थित भैण्डाँडा आधारभूत विद्यालय सिगानाका प्रधानाध्यापक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका पूर्व जिल्ला सदस्य रामेन्द्र खडकालाई मिति २०७८/०२/२७ गते जिल्ला प्रशासन कार्यालय बागलुङबाट खटिएका प्रहरीले साइबर अपराधको नाममा बिना प्रक्राउ पूर्जी गिरफ्तार गरी काठमाडौँ पठाइएको र राजनीतिक आस्थाका आधारमा झुट्टा मुद्दा लगाई फसाउन खोजिएको घटनाप्रति एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको गम्भीर ध्यान आकर्षित भएको छ” भनिएको छ ।

विज्ञप्तिमा, “नेपाली जनताको लामो त्याग, संघर्ष तथा बलिदानीका कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । लोकतान्त्रिक राज्यमा नागरिकहरु विभिन्न पेशा, व्यवसायमा आबद्ध हुने, विचारको अभिव्यक्ति दिने, संगठित हुने नैसर्गिक अधिकार हो । लोकतन्त्रमा विचारका आधारमा प्रतिशोध राख्ने, झुट्टा आरोप लगाएर मुद्दा लगाउने, आस्था परिवर्तनका लागि डर, धाक, धम्की देखाउनु शोभनीय होइन । यो कसै कतैबाट पनि गरिनु हुँदैन,” भनिएको छ ।

श्री भैण्डाँडा आधारभूत विद्यालय सिगाना, बागलुङमा विगत तीस वर्षदेखि प्रधानाध्यापकको रूपमा कार्यरत, समाजसेवामा अग्रसर तथा बहुप्रतिभाशाली व्यक्तित्वको रूपमा लोकप्रिय शिक्षक रामेन्द्र खड्कालाई सामाजिक सञ्जालमा भेटेको सामग्रीलाई सेयर गरेको आरोप लगाई बिना कसुर, बिना प्रमाण, बिना पक्राउ पूर्जी गिरफ्तार गरी काठमाडौँ ल्याई यातनासहित हिरासतमा राखिएको छ ।

देश कोरोनाले आक्रान्त रहेको, जनताको दिनानुदिन स्वास्थ्यमा गम्भीर संकट आइरहेको र सरकारी संयन्त्र कोल्याप्स हुने अवस्थामा पुगेको बेला असंवैधालिक केपी ओली सरकार भने जनतालाई झुठ्टा मुद्दा लगाउने र थुन्ने कार्यमा कम्मर कसेर लागेको छ । नेकपा (एमाले) ओली गुटका स्थानीय तथा जिल्ला स्तरका केही नेताहरूको ठाडो निर्देशनमा राजनीतिक प्रतिसोध साँध्नका लागि योजनाबद्धरूपले गिरफ्तार गरिएको पारिवारिक स्रोतको दाबी रहेको छ ।

विज्ञप्तिमार्फत शिक्षक संगठनले वैचारिक प्रतिशोध साध्ने दुरासायले यथार्थलाई तोडमोड गरी शैक्षिक क्षेत्रलाई नै आतङ्कित बनाउने गरी शिक्षकको गिरफ्तार गर्ने, शिक्षक र शिक्षकको परिवारलाई मानसिक यातना दिने, झुट्टा मुद्दा लगाउने घटनाको घोर भत्र्सना गरेको छ भने राजनीतिक आस्थाको आधारमा गिरफ्तार गरिएका शिक्षक रामेन्द्र खडकाको विना शर्त अविलम्ब रिहाइका लागि जोडदार माग गरेको छ ।

शिक्षक खड्कालाई जिल्ला प्रशासन कार्यालय बागलुङले बोलाई आवश्यक सोधपुछ गरी घर फर्काएको अवस्थामा ‘यो मान्छे अहिलेसम्म किन गाउँमा हिँडडुल गर्दैछ, किन यसलाई प्रहरीले थुन्न सकेन” भनेर धम्काउँदै तत्काल गिरफ्तारी गर्नका लागि एमाले ओली गुटका नेताहरूले दबाब दिएको र सोही दबाबका आधारमा उहाँलाई गिरफ्तार गरिएको गृह मन्त्रालय निकट स्रोतले लेफ्ट रिभ्यु अनलाइनलाई बतायो । शिक्षक खड्कालाई तत्काल गिरफ्तार गर्न विघटित प्रतिनिधि सभाका सदस्यले प्रत्यक्ष रूपमा दबाब दिएको जिल्ला प्रहरी निकट स्रोतले बतायो । उहाँलाई फसाउनका लागि महिला सञ्जालको नाममा किर्ते मुद्धा दर्ता गरिएको हल्ला चलाइए पनि हालसम्म कसले, कुन कसुरमा, कुन मुद्दा हालेको हो भन्नेबारे प्रहरीले केही बताएको छैन । झुठा मुद्दा हाल्ने र फसाउने कार्यमा एक जना बागलुङकै पूर्वसांसदको प्रत्यक्ष भूमिका रहेको र उनले पटक पटक विभिन्न निकायहरूमा फोन गरी शिक्षक खड्कालाई तत्काल गिरफ्तार गराउन दबाब दिएको नाम नखोल्ने सर्तमा एक प्रहरी जवानले बताए ।

सबैसँग हाँसो ठट्टा गर्ने, जटिल विषयलाई पनि ठट्यौलो भाषामा सरल तरिकाले प्रस्तुत गर्ने शिक्षक रामेन्द्र खड्का मादल, गितार, किबोर्ड लगायतका विभिन्न वाद्यवादन सामग्री बजाउने, देउसी भैलो खेलाएर विभिन्न सामाजिक कार्य गर्ने मिलनसार स्वभावका भएकाले सिगाना र तित्याङ दुबै गाउँमा अत्यन्तै लोकप्रिय हुनुहुन्छ । उहाँ खुलाल खड्का समाज सिगाना-तित्याङको सचिव रहेर लामो समयदेखि काम गर्दै आउनुभएको छ ।

उहाँको गिरफ्तारीको चौतर्फी आलोचना र विरोध तथा भर्त्सना गरिएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्वसांसद बलावती शर्मा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का स्थायी समिति सदस्य नहेन्द्र खड्का, श्री सिगाना उच्च माद्यामिक विद्यालयका प्राचार्य गोपालकुमार शर्मा लगायत सयौँ शिक्षकहरू, नेकपा (माओवादी केन्द्र) बागलुङका अध्यक्ष ग्यामनाथ गैरे ‘अनिल’, माओवादी केन्द्रका बागलुङ नगर कमिटीका संयोजक इन्द्र केसी, वाइसिएलका केन्द्रीय सदस्य झमन पाण्डे, उर्जा व्यावसायी तथा एमाले नेता राजेन्द्र खड्का, समाजसेवी अप्रा‍ मेजर तेजबहादुर खत्री, बानपा-९ का वडाध्यक्ष गणेश थापाका साथै दर्जनौँ उद्योगी, व्यावसायी, प्रवासी नेपालीहरू, सञ्चारकर्मी महेश खातीका साथै दर्जनौँ पत्रकारहरू लगायतले शिक्षक रामेन्द्र खड्कालाई झुठा मुद्दामा फसाउन लागिएकोमा तीव्र विरोध तथा भर्त्स्ना गर्दै उहाँको तत्काल रिहाइको माग गर्नु भएको छ ।