trilochan bhatta, chief minister, far-western province, nepal
 

काठमाडौँ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरुले आफनो देशमा आउन पाउनु नैसर्गिक अधिकार भएको बताउनु भएको छ । ‘रेडियो प्रदेश सेभेन’को बहसमूलक कार्यक्रम ‘प्रदेश बहस’मा बोल्दै मुख्यमन्त्री भट्टले सो कुरा बताउनु भएको हो ।

बहसको क्रममा आफू स्वयम्‌ पनि विगतमा भारतमा श्रम बेच्न बाध्य पारिएका र सर्वहारा वर्गीय पृष्ठभूमि बोकेका मुख्यमन्त्री भट्टले सिमानामा अलपत्र परेका नागरिकको समस्यालाई गम्भिरतापूर्वक लिएको जनाउँदै भन्नुभयो, “संघीय सरकारले यो बिषयमा उनीहरुलाई कहाँ राख्ने, ल्याएर कस्तो उपचार गर्ने, नाकामा र भारतमै रहेका नेपालीहरुलाई के गर्ने, लगायतका बिषयमा एउटा निति बनाउनु पर्छ । नेपालीहरुले आफनो देशमा आउन पाउनु नैसर्गिक अधिकार हो, उनीहरुले आउन पाउँछन् । यस सम्बन्धी संघीय सरकारले प्रष्ट पारिदिनुपर्छ ।”

उहाँले सुदुरपश्चिममा कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले विभिन्न व्यवस्था गरिरहेको र संघीय तथा स्थानीय सरकारहरुसँग समन्वय गरेर योजनाहरु अगाडि बढिरहेको बताउनु भयो ।

उहाँले धनगढीको सेती प्रादेशिक अस्पताललाई कोरोनालक्षित अस्पताल घोषणा गरिएको र भाइरस संक्रमणको चेक जाँच गर्न ल्याब सञ्चालनमा ल्याएको, कञ्चनपुरको भिमदत्त नगरपालिकाको महाकाली अस्पतालमा पनि तयारी भइरहेको, जिल्लाका केही अस्पतालहरुमा आइसोलेसन वार्ड राखिएको, बैतडी र डोटीका जिल्ला अस्पतालमा छिटै परीक्षणका लागि प्रयोगशाला र मेसिनहरु राख्ने तयारी गरिएको र धनगढीको रंगशालामाआइसोलेसन वार्ड तयार गरिएको  जानकारी दिनुभयो ।

उहाँले केही सामाग्रीको अभाव रहेको, केही पूर्ति गरिएको र केहीका लागी प्रदेश सरकारले तयारी अगाडि बढाई राखेको जानकारी दिनयभयो ।

उहाँले सरकारबारे फैलाइएका भ्रमहरूबार प्रतिक्रिया दिँदै भन्नुभयो, “जनताबाट आएको गुनासोलाई सहर्ष स्वीकार्ने कुरा रहन्छ तर जनताको नाम लिँदै अन्य केही तत्त्वहरुले भ्रम सिर्जना गर्नु राजनीतिक पुर्बाग्रह हो ।”

उहाँले यतिबेला विश्वव्यापी रुपमा फैलिएको संक्रमण मानवजातिको लडाइँ भएकाले यसबाट बच्न र बचाउनतिर सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

मुख्यमन्त्री भट्टले बाहिरबाट आएका नेपालीहरुलाई क्वारेनटाइनमा राख्न त्यस्को व्यवस्थापन गर्ने कुरा पनि अगाडि सारिएको बताउनु भएको छ ।

उहाँले फागुन २२/२३ गतेदेखि नै सुदुरपश्चिमका सीमा-नाकाहरु लकडाउन हुनुभन्दा अगाडि र त्यो समयमा करिव १ लाख ४४ हजारको मानिसहरूको प्रारम्भिक चेकअप गरिएको जानकारी दिनुभयो भने लकडाउनपछि पनि खुला सीमा-नाका भएकाले केही संख्यामा आएकाहरुको स्वास्थ्य जाँच भइरहेको समेत उल्लेख गर्नुभयो । पछिल्लो समयमा नेपाल छिरेका सात-आठ सय नेपालीहरुलाई स्थानीय तहहरुको क्वारेनटाइनमा राखिएको पनि जानकारी दिनुभयो ।

मुख्यमन्त्री भट्टले सीमा-नाकामा आएसकेका नेपालीहरुलाई क्वारेनटाइनमा राख्ने व्यवस्था प्रदेश सरकारले गरेको तर सीमा-नाका खोल्ने र बन्द गर्ने अधिकार संघीय सरकारको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो “योभन्दा पहिले भारतबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राखेको र अहिले पनि राख्ने व्यवस्था गरेका छौँ । सीमा-नाकामा रहेका नेपालीहरुलाई नेपाल ल्याउनका लागि प्रदेश सरकारले संघीय सरकारसँग कुरा राखेको छ । उनीहरुलाई आफनो देशमा आउने वातावरण सम्बन्धित निकाय सम्म पुर्‍याएका छौँ ।”

“भरसक उनीहरुलाई आफनो देशमा आउने वातावरण बनाउनुपर्छ । यदि त्यो भएन भने भारत सरकारसँग नेपाल सरकारले कुरा गरेर उनीहरुलाई १४ दिनसम्म राख्नका लागि त्यहीँ व्यवस्था हुनुपर्छ ।” मुख्य मन्त्री भट्टले सुनाउनुभयो ।

उहाँले सीमा-नाकामा भएका मात्रै नभएर भारतमा काम छोडेर बसेकाहरुलाई पनि समस्या भइरहेको जनानुनु भयो । उनीहरुलाई जुन ठाउँमा छन् त्यही ठाउँमा व्यवस्थापन गर्न नेपाल सरकारले भारत सरकारसँग कुरा गरेर व्यवस्थापन गनुपर्छ भनेर प्रदेश सरकार लागिपरेको उहाँले जानकारी दिनुभयो । संघीय सरकारले प्रदेश सरकारलाई सीमा-नाका खोलेर नेपालीहरुलाई ल्याउने वातावरण बनायो भने प्रदेश सरकार ल्याउन तयार रहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

यस विषयमा भारत सरकारसँग नेपाल सरकारले कुरा गरिसकेको खबर सञ्चार माध्यममा आइरहेकोले आशआवादी रहेको बताउँदै मुख्यमन्त्री भट्टले यसको छिट्टै समाधान हुने आशा गर्न र भ्रमहरूबाट मुक्त भई सही तरिकाले बुझ्न सुदुरपश्चिमबासीलाई अनुरोध गर्नुभएको छ ।