Ram Prasad Sapkota, Deepshkikha, youth leader of ncp
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा राष्ट्रिय युवा संघ, नेपालका संयोजक क. रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कम्युनिस्टहरुको सरकार तल्लो तहका गरिब, किसान, मजदुर र श्रमिकहरुको भएको प्रमाणित गर्ने बेला आएको बताउनु भएको छ ।

लेफ्ट रिभ्यु अनलाइनसँग कुराकानी गर्दै क. दीपशिखाले भन्नुभयो, “विश्वभर फैलिएको कोरोना महामारीकै बेला नेपालमा हामी कम्युनिस्टहरुको सरकार तल्लो तहका गरिब, किसान, मजदुर र श्रमिकहरुको हो भनेर प्रमाणित गर्ने बेला आएको छ ।”

नेकपाका केन्द्रीय सदस्य सेमत रहनुभएका क. दीपशिखाले कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै नेपालमा लकडाउन गरिनु स्वभाविक भएपनि त्यसले पारेका प्रभावहरूको विषयमा गम्भीर हुनु जरूरी रहेको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “विदेशमा समेत लकडाउन हुँदा त्यहाँ बेखर्ची भएकाहरुलाई त्यहाँको दुतावासले हेर्ने गरी मिलाउने, सीमा-नाकामा अलपत्र दाजुभाइहरुलाई नेपाली भूगोलमा ल्याएर क्वारेन्टाइनमा राख्ने र गरिव, श्रमिक तथा किसानहरुलाई प्रभावकारी राहतको व्यवस्था गर्नुपर्‍यो । हामी युवाहरुको हिस्सामा के जिम्मेवारी आउँछ, हामी पूरा गर्न तयार छौँ ।”

राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष क. दीपशिखाले नेपालमा कोराना नियन्त्रणका लागि युवा संघले जनताको साथमा रहेर काम गर्ने पनि बताउनु भयो । उहाँले कोरोना महामारीको सन्दर्भमा राष्ट्रिय युवा संघले यसअघि नै ६ बुँदे आन्तरिक परिपत्र जारी गरिसकेको र सोही आधारमा युवाहरू जो जहाँ छ, त्यहीँबाट परिचालित हुने र कोरोना विरूद्धको संघर्षमा विजय प्राप्त गर्ने प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले आन्तरिक परिपत्र जारी गरेर जहाँजहाँ छौँ, त्यहीँबाट जनताको पक्षमा सक्दो सहयोग गर्न निर्देशन दिएका छौँ ।”

उहाँले कोरोनाको महामारीलाई मानवजाति र एउटा संक्रामक रोगको बिचमा चलेको महायुद्धको संज्ञा दिँदै नेपालमा यतिबेला कम्युनिस्ट पार्टीको सरकार रहेकोले जनतालाई कोरोनाबाट बचाउनु यसको कर्तव्य रहेको जिकिर गर्नुका साथै नेकपाको भातृ संगठनको रूपमा राष्ट्रिय युवा संघ, नेपालले सरकारलाई आवश्यक जुनसुकै सहयोग गर्न र जस्तोसुकै बलिदान गर्न तयार रहेको बताउनुभयो ।

कुराकानीलाई अघि बढाउँदै युवा नेता क. दीपशिखाले, “यतिबेला कोरोना संक्रमण र सरकारले जारी गरेको लकडाउनका कारण गाउँगाउँमा गएर कोरोनाको रोकथाम र न्यूनीकरण गर्ने उपाय सिकाउँदै हिँड्ने अवस्था नभए पनि हामीले जनतालाई सचेतना फैलाउने क्रममा युवा परिचालन गरेका छौँ तर आवश्यक परे हामी जे गर्न पनि तयार छौँ,” भन्नुभयो ।

उहाँले “स्थानीय सरकार छ, तिनका प्रतिनिधि छन्, तिनीसँग कर्मचारी र स्वास्थ्य संयन्त्र पनि छ । सरकारले तिनका नाममा श्वेतपत्र जारी गरोस् । अझै पनि बाहिरबाट आएकाहरूको लगत निकाल्ने, क्वारेन्टाइनमा राख्ने र तिनको स्वास्थ्य जाँच गर्ने कामलाई सहज बनाउनु पर्‍यो । उनीहरूलाई देश फर्किएकोमा हीनता हुनेगरी होइन, सम्मानका साथ, यो उनीहरू र सिंगो देशलाई बचाउन गरिएको हो भन्ने भावना पैदा गर्नुपर्यो,” भन्दै थप्नुभयो “यसको संक्रमण ढिला देखिने भएकोले थप सजग हुनुपर्‍यो, सीमानामा मानिसहरूलाई देशै नभएजसरी बितारा पार्नु भएन, उचित व्यवस्थापन गर्नु पर्‍यो ।”

उहाँले जनताले गाह्रो, साह्रो र अफ्ठ्यारोमा परेकोबेला जसले सहयोग र सम्मान गर्छ, उसैलाई आफ्नो ठान्ने भएकोले सरकार र पार्टी नेताहरूले गम्भीर हुनुपर्ने सुझाव दिनुभयो । साथै यतिबेला कोरोना नियन्त्रणका लागि लकडाउन निर्बिकल्प भएकोले यसलाई पालना गर्न पनि सबैलाई अनुरोध गर्नुभयो ।