लिम्पियाधुरा, all party meeting at baluwatar on lipulek
 

काठमाडौँ । नेपालका सबै राजनीतिक दलहरूले लिम्पियाधुरा, लिपुलेक, सुस्ता सहित नेपालको सम्पूर्ण गुमेको भूमि फिर्ता ल्याउनुपर्ने विचार व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उपस्थित राजनीतिक पार्टीका नेताहरुले आ-आफ्नो पार्टीको तर्फबाट सो विचार व्यक्त गर्नुभएको हो ।

गतसाता भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतको धार्चुला हुँदै नेपालको लिपुलेकसहित विभिन्न स्थानहरू मिचरे बनाएको चीनको मानसरोवरसम्म पुग्ने ८० किलोमिटर बाटो उद्घाटन गरेसँगै पुनः एकपटक सतहमा आएको नेपाल-भारत सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा आयोजित सर्वदलीय बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका हुन् ।

यतिबेला सिंगो मानवजाति विश्व कोरोना महामारीसँगको संघर्षमा सहभागी भएरहेको बेला गतसाता भारतले सो विवादास्पद सडक उद्घाटन गरेको सार्वजनिक भएपछि सरकार, राजनीतिक दल, नागरिक क्षेत्र र आम जनतामा आक्रोश उत्पन्न भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा नेपाली भूमि रक्षाका लागि एक स्वरमा सो भावना व्यक्त भएको हो ।

नेपाल सरकारले सो विवादबारे भारत सरकारलाई कूटनीतिक नोटमार्फत आफ्नो असहमति जनाई संवादद्वारा यथाशक्य छिटो समस्याको समाधान गर्न आग्रह गरेको छ भने आजै दार्चुलाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प समेत खडा गरी सरक्षाकर्मी परिचालन गरिसकेको छ ।

नेपाल सरकारको यो पहलकदमीलाई स्वागत गर्दै परिणाममुखी सम्वाद र कुटनीतिक पहलका लागि सर्वदलीय बैठकमा सहभागी दलका शीर्ष नेताहरूले सुझाव दिनु भएको छ ।