ऋषिराम भुसाल, रिखिराम, घर, rishi ram bhusal, house
 

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक क. रिखिराम भुसाल ‘ऋषि’ले कोभिड-१९ को उपचारका लागि आफ्नो घर उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

पर्वत जिल्लाको बिहादी गाउँपालिकाका क. भुसालले गाउँमा कोरोना महामारीको प्रभाव फैलिएपछि आम सर्वसाधारणलाई आइसोलेसनमा राखी उपचार गर्नका लागि वडा नं. ४ को भुसालचोकमा नवनिर्मित १० कोठे घर निःशुल्क उपलब्ध गराउने बताउनु भएको हो । केही दिनअघि बिहादी गाउँपालिकामा ६८ परीक्षण गरिएका मध्ये २६ जनालाई कोरोना पोजिटिभ देखिएको सन्दर्भमा संभावित भयावहलाई ख्याल गरेर सो घोषणा गरिएको भुसालले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) पर्वतको सचिवालय सदस्यसमेत रहनुभएका क. भुसालले सामाजिक सञ्जालमार्फत सो घोषणा गर्नुभएको हो । उहाँको घोषणालाई सकारात्मक रूपमा लिँदै आवश्यक परेमा उहाँको घर प्रयोग गरिने बिहादी गाउँपालिकाका मेयर कमलप्रसाद भुसालले बताउनु भएको छ ।

सामाजिक सञ्जालमा फेसबुकमा उहाँले पोस्ट गर्नुभएको छ, “बिहादी गाउँपालिकामा पोजेटिभ देखिनुभएका सबैको शीघ्र स्वास्थलाभको कामना गरौँ । सबैले सकारात्मक सोचको विकास गरौँ । सबै सुरक्षित तरिकाले जनसमुदाय घरमै बसौँ । स्वास्थ जस्तो संवेदनशील विषयमा मजाक नगरौँ । हाम्रो घरका कोठाहरू आवश्यक परेको खण्डमा आइसोलेसनका लागि निःशुल्क गाउँपालिकाले प्रयोगमा ल्याउनका लागि १० वटा कोठा तयारी अवस्थामा छन् ।”